२०८२ चैत्र २० गते शुक्रवार

इरानी आक्रमणमा परी यूएईमा १ नेपालीको मृत्यु

काठमाण्डौँ, १८ फागुन ।  इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल, बङ्गलादेश र पाकिस्तानका १,१ जना जनाको ज्यान गएको जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । यूएईमा रहेको नेपाली दूतावासले घटनामा एकजना नेपाली नागरिकको ज्यान गएको जानकारी पाएको तर, विस्तृत जानकारी नभएको जनाएको छ । ज्यान गुमाउनेको परिचय पनि खुल्न बाँकी छ । यूएई रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट १ सय ६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएकोमा १ सय ५२ वटा क्षेप्यास्त्रलाई निस्तेज पारिएको थियो भने १३ वटा समुद्रमा खसेको थियो । त्यस्तै दुई वटा क्रुज मिसाइल र ५ सय ४१ वटा ड्रोन पनि प्रहार गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

अधिकांश ड्रोनलाई निस्तेज पारिए पनि २१ वटा ड्रोन भने नागरिक भएका ठाउँमा खसेको जनाइएको छ । यसैबीच मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्रमन्त्री बालानन्द शर्माका अनुसार बैठकमा मन्त्रीहरुले खाडी देशमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गरेका छन् । ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाइएको समेत मन्त्री शर्माले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै कूटनीतिक तथा प्रशासनिक पहल शुरु गरेको जनाएको छ ।।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया