२०८२ चैत्र २० गते शुक्रवार

अमेरिकी र इजरायली आक्रमणमा परी इरानका सर्वोच्च नेता अलीको मृत्यु, ४० दिन सम्म शोक मनाईने

काठमाडौ, १७ फागुन । इरानले अमेरिकी र इजरायली आक्रमणमा परेर आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका पुष्टि गरेको छ ।इरानको सरकारी टेलिभिजनले खामेनीको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले आक्रमणमा गरेर खामेनेकी छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका जनाएको छ ।

यसैबीच सरकारी टेलिभिजनका एक प्रस्तोताले देशमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताएका छन् ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत अमेरिकी–इजरायली आक्रमणमा परि इरानी सर्वोच्च नेता खामेनी मारिएका घोषणा गर्नुभएको थियो ।

ट्रम्पले इरानी नागरिक, अमेरिकी र विश्वभरका धेरै देशका मानिसहरूका लागि न्याय भएको भनी लेख्नुभएको छ । उहाँले इरानमाथि बमबारी जारी रहने र इरानी नागरिकका लागि आफ्नो देश फिर्ता लिने यो एक मात्र ठूलो मौका भएको बताउनुभएको छ । धेरै इरानी सेनाहरू अब युद्ध लड्न नचाहेको ट्रम्पको दाबी छ ।

अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि प्रत्याक्रमण गरेको छ । इरानले अमेरिकी सैन्य अड्डा भएका ठाउँहरू यूएई, कतारको दोहा, बहराइन र कुवेतमा आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ ।

आक्रमणमा परेर इरानमा दुई सय जनाभन्दा धेरै मारिएका रेड क्रिसेन्टले जनाएको छ । यस्तै बालिकाहरू पढ्ने विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन् ।इरान वरपरका क्षेत्रमा अमेरिकी फौज एकत्रित भइरहेको बेला पछिल्लो आक्रमण भएको छ । इरानले परमाणु कार्यक्रम अन्त्य गर्न राजी नभए त्यहाँ आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिँदै आउनुभएको थियो । इजरायल सरकारले सार्वजनिक ठाउँहरूमा भेला नहुन र विद्यालयरू बन्द गर्न भनेको छ ।

इजरायलमा गैरसैनिक उडानहरू पूर्णरूपमा बन्द गरिएका छन् । आठ महिनाअघि पनि इजरायल र इरानबीच १२ दिनसम्म युद्ध चलेको थियो । इजरायलले इरानको सैन्य तथा परमाणुस्थलहरूमा बमबारी गरेर वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएपछि इरानले पनि इजरायलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया