काठमाण्डौँ, २८ पुष । अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ । अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भइसकेको छ भने झन्डै १० हजार ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान स्वतन्त्रता चाहेको भन्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी दिइएको छ । इरानको संसद् सभामुखले चेतावनी दिँदै अमेरिका आक्रमणमा उत्रिए इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य ठेगानामाथि आक्रमण गर्ने समेत चेतावनी दिनुभएको खबरमा उल्लेख छ । महँगीविरुद्ध शुरू भएको आन्दोलन अहिले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा परिणत भएको छ । इन्टरनेट पूर्ण रूपमा बन्द गरिएकाले सूचना संकलन कठिन बनेको छ ।।



