तुलसीपुर, १७ मंसीर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्यको लागि युरोपको माग आफूलाई “स्वीकार्य नरहेको“ बताएका छन्। मस्कोमा दिएको एक मन्तव्यमा उनले थपेः “हामी युरोपसँग लड्ने छैनौँ, तर यदि युरोप हामीसँग लड्न चाहन्छ भने हामी अहिले तयार छौँ।“
यसैबीच राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफबीच युक्रेनको शान्ति योजनाको बारेमा मस्कोमा भएको वार्ता बिना उपलब्धि सकिएको छ। रुसी वार्ताकारहरूले पाँच घण्टाको बैठकलाई उत्पादक र उपयोगी बताएका छन्। तर क्रेमलिनका सहयोगी युरी उषाकोभले युक्रेनी क्षेत्रको सम्बन्धमा कुनै सम्झौता नभएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए।
उनले फ्लोरिडामा युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलहरूको बैठकपछि तयार पारिएको पछिल्लो मस्यौदा योजनाका अतिरिक्त रुसले थप चारवटा दस्ताबेज प्राप्त गरेको बताए। रुसले सन् २०१४ मा गाभिएको क्राइमिया र साढे तीन वर्षअघि आक्रमण गरेयता बलपूर्वक कब्जा गरिएका अन्य सम्पूर्ण क्षेत्रहरूसहित युक्रेनी क्षेत्रहरूको कानुनी मान्यताको माग गरेको छ।

