२०८२ मङ्सिर १९ गते शुक्रवार

ब्रिटिश सांसद तथा पूर्वमन्त्री सिद्दिकलाई बाङ्ग्लादेशमा भ्रष्टाचारमा मुद्दामा दुई वर्षको जेल सजाय

बीबीसी, १५ मंसीर । ब्रिटिश सांसद तथा पूर्वमन्त्री ट्यूलिप सिद्दिकलाई बाङ्ग्लादेशको एउटा अदालतले सोमवार भ्रष्टाचारको मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ। अन्य १६ व्यक्तिसहित उनलाई उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो। उनलाई ढाकाको बाह्य भागमा आफ्नो परिवारलाई जग्गा दिलाउन बाङ्ग्लादेशकी सत्ताच्युत प्रधानमन्त्री तथा आफ्नी ठूलीआमा शेख हसिनालाई प्रभावित पारेको कसुरमा दोषी ठहर गरिएको हो। यद्यपि सिद्दिकले उक्त आरोप खण्डन गर्दै आएकी छन्।

लन्डनमा बस्ने सिद्दिकले उक्त सजाय भोग्ने सम्भावना देखिँदैन। उनीविरुद्ध बाङ्ग्लादेशमा विभिन्न अभियोगमा अझै मुद्दाहरू बाँकी छन्। बाङ्ग्लादेशमा शेख हसिनाको सत्ता ढलेपछि सरकारी अभियोजनकर्ताहरूले उनी, उनका सहयोगी र परिवारका सदस्यहरूविरुद्ध मुद्दा हालेका छन्। सिद्दिक शेख हसिनाकी बहिना रेहाना सिद्दिक की छोरी हुन्। सत्ताच्युत नेत्रीसँगको व्यक्तिगत सम्बन्धबारे प्रश्न उठेपछि उनले गत ज्यानुअरीमा प्रधानमन्त्री किअर स्टार्मरको मन्त्रिपरिषद्बाट राजीनामा दिएकी थिइन्।

बाङ्ग्लादेशको अदालतमा पेस गरिएको कागजमा सिद्दिकले “आफ्नी आमा रेहाना सिद्दिक, बहिनी अज्मिना सिद्दिक र दाइ रद्वान सिद्दिकलाई ढाकामा एउटा जग्गो उपलब्ध गराउन आफ्नी ठूलीआमा तथा पूर्वप्रधानमन्त्री शेख हसिनालाई उनमा निहित विशेष शक्ति प्रयोग गर्न बाध्य बनाइन् र प्रभावित गरिन्“ भनिएको छ।

यसअघि बाङ्ग्लादेशको भ्रष्टाचारविरोधी आयोग एसीसीले सिद्दिकको बाङ्ग्लादेशी राहदानी, परिचयपत्र र कर प्रणालीमा दर्ता भएको नम्बर अधिकारीहरूले फेला पारेकाले उनलाई बाङ्ग्लादेशी नागरिकका रूपमा मुद्दा चलाइएको बताएको थियो।

सिद्दिकका वकिलहरूले उनी बाङ्ग्लादेशी नागरिक हुन् भन्ने दाबीको प्रतिवाद गरेका छन्। उनीहरूले ’फाइनान्शल टाइम्स’लाई उनले “कहिल्यै बाङ्ग्लादेशको परिचयपत्र वा मतदाता परिचयपत्र नलिएको“ र “बाल्यकालदेखि नै ृबाङ्ग्लादेशकोेराहदानी पनि नलिएको“ बताएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया