तुलसीपुर, १२ मंसिर । दाङको तुलसीपुरमा रहेको रहेको राप्ती बबई क्याम्पसको ३५औँ स्थापना दिवस तथा २०औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । २०४७ साल मंसिर १२ गते सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको यस क्याम्पसले हालसम्म गुणस्तरीय उच्च शिक्षामा महत्वपूर्ण योगदान दिँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राप्ती बबई क्याम्पसले पश्चिम दाङसहित आसपासका जिल्लाहरु सल्यान, रोल्पा, रुकुम, प्युठान, जाजरकोटलगाएतका विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच पु¥याउँदै आएको छ । साधारण सभामा क्याम्पसले हालसम्म हासिल गरेका शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापन पक्षका उपलब्धिहरू प्रस्तुत गरिएको थियो । शैक्षिक तथा भौतिक प्रगती सार्वजनिक गर्दै क्याम्पस प्रमुख गणेश पार्धेले क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्राप्त गरी शैक्षिक गुणस्तरमा थप सुदृढ हुँदै गएको जानकारी दिनुभयो । क्याम्पसमा हाल व्यवस्थापन, मानविकी, शिक्षा संकायअन्तर्गत विभिन्न विषयको अध्यापन भइरहेको छ भने आगामी दिनमा अझै थप बिषयबस्तु लगायतका नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजनासमेत रहेको बताइएको छ ।
सो अवसरमा क्याम्पसको आर्थीक प्रतिबेदन प्रस्तुत गर्दै व्यवस्थान समितिका कोषाध्यक्ष बिनिल केसीले क्याम्पसको आर्थीक पाटो पारदर्सी रुपमा अघि बढिरहेको बताउनुभयो । आर्थीक बर्ष २०८१/०८२ मा क्याम्पसको खर्च भन्दा आम्दानी धेरै भएको भन्दै उहाँले ८ करोड ४७ लाख ८ हजार ३ सय ७८ रुपैयाँ आम्दानी भएकोमा ६ करोड ८२ लाख ५८ हजार ६ सय ५८ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले क्याम्पसको १ करोड ६४ लाख ५८ हजार ६ सय ५८ रुपैयाँ बचत रहेको छ । सो अवसरमा बोल्दै क्याम्पसका संस्थापक अध्यक्ष तथा पुर्वमन्त्री दिपक गिरीले राप्ती बबई क्याम्पस स्थापनाका लागी धेरै आरोह अवरोह पार गर्नुपरेको स्मरण गराउनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेक गिरीले अहिले क्याम्पसले धेरै ठुलो उपलब्धी हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य अनारकली मियाँ, पुर्व सांसद शंकर गिरी, नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल ओली, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, पुर्वमेयर ढुण्डीराज लामीछाने, घनश्याम पाण्डे, दंगीशरण गउँपालिका अध्यक्ष शम्भु गिरी, एमाले तुलसीपुर नगर कमिटिका अध्यक्ष रुप बहादुर खत्रीलगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुलाई अनुसाशन सिकाउन आवश्यक रहेको र जिवनउपयोगी शिक्षाको आवश्यकता औँल्याएका थिए । यसैगरी क्याम्पसमा स्कुल बस सञ्चालन गर्न अतिआवश्यक रहेकोमा पनी उनीहरुले जोड दिएका छन् ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनमा शिक्षक तथा कर्मचारीको व्यावसायिक क्षमता विकास, विद्यार्थीमैत्री वातावरण निर्माण, अतिरिक्त क्रियाकलाप सञ्चालन र शैक्षिक अनुसन्धानलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा आगामी दिनमा क्याम्पसको भौतिक पूर्वाधार, डिजिटल प्रविधि, प्राविधिक शिक्षाको विस्तार र शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिइने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । सो अवसरमा विभिन्न खेलखुद प्रतियोगिता सहभागी विदार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने केही विद्यार्थीलाई छात्रवृतिसमेत उपलब्ध गराइएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार रेग्मीको अध्यक्षतामा कार्यक्रमको भएको हो ।।



