तुलसीपुर, ६ मंसिर । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा आजदेखि श्रीमद्भागवत महायज्ञ सञ्चालन हुँदैछ। विपन्न विपन्न नागरिकको उपचारमा सहयोग गर्न तुलसीपुर–१८ मा आजदेखि महायज्ञ, एक करोड संकलन गर्ने लक्ष्य तथा असहाय नागरिकको उपचारमा सहयोग पुर्याउन अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो। वडा कार्यालयको पश्चिमतर्फ रहेको बगैँचा मैदानमा सञ्चालन हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। महायज्ञको शुभारम्भअघि आज दिउँसो साढे १२ बजे वडा कार्यालयको गेटबाट भव्य कलशयात्रा निकालिनेछ। कलशयात्रामा वडाका विभिन्न टोलबाट स्थानीयवासीको सहभागिता रहने वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो।
महायज्ञको औपचारिक उद्घाटन दिउँसो १ बजे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले गर्नुहुने कार्यक्रम तय भएको छ। आजदेखि सुरु हुने महायज्ञ मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञमार्फत न्यूनतम एक करोड रुपैयाँ संकलन गरी विपन्न नागरिकको उपचारका लागि स्थायी अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष वलीले बताउनुभयो। उहाँका अनुसार संकलित रकमलाई अक्षयकोषमा जम्मा गर्दै क्रमशः वृद्धि गर्ने र भविष्यमा उक्त कोषलाई विस्तार गरी नगरस्तरीय बनाउने योजनासमेत रहेको छ। विपन्न नागरिकले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मानवीय उद्देश्यले महायज्ञ आयोजना गरिएको उहाँको भनाइ छ। महायज्ञमा स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्य प्रमुख कथावाचकका रूपमा रहनुहुनेछ। धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई जोड्दै आयोजना गरिएको यस महायज्ञले विपन्न नागरिकको उपचारमा दीर्घकालीन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।