२०८२ कार्तिक २१ गते शुक्रवार

दाङ लगायत देशका धेरै स्थानमा भइरहेको वर्षाले किसानहरु चिन्तित

काठमाडौँ, १४ कात्तिक । मोन्था चक्रवातको प्रभाव दाङ लगायत देशभरि परेको छ । यसबाट हिमाल, पहाड र तराई र मधेश सबै ठाउँको जनजीवन प्रभावित भएको छ । नेपालको अन्न भण्डार मानिने मधेशका खेत यतिबेला पाकेको धानले सुन जस्तै पहेँलपुर छन् ।

भित्र्याउन ठिक्क परेको धानबालीलाई मोन्था चक्रवातको कहरले बिथोलेपछि किसान चिन्तित बनेका छन् । किसानहरु धान भित्र्याउन लागिपरिरहेका बेला अचानक बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली चक्रवातले किसान मर्कामा परेका छन् । बुधबारदेखि आएको वर्षाले किसानको धान खेतमै अलपत्र परेको छ ।

 

यस मौसमी प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृत सरह हुने छ । किसानले भर्खरै रोपेका आलु र अन्य तरकारीका बेर्नाका लागि पनि यो वर्षाले राहत दिने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवातमा अन्य थप दुई साना चक्रवातको शक्ति मिसिएपछि यो झन् शक्तिशाली बनेकाले नेपालका केही स्थानमा ठुलो वर्षा र हिमपात गराउने सम्भावना बढाएको छ ।

त्यसैले बिहीबारसम्म गण्डकी प्रदेशसम्म सक्रिय रहेको मोन्थाको असर अहिले सुदूरपश्चिम प्रदेशसम्म नै फैलिएको छ । शुक्रबार देशका अधिकांश स्थानमा मोन्था चक्रवातको असरले निरन्तर वर्षा कायम रहने मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । शनिबार मध्याह्नदेखि भने बिस्तारै मौसममा सुधार हुँदै जाने छ । ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया