तुलसीपुर, १० कात्तिक । गौरीशंकर सामुदायिक वनमा पछिल्लो समय जंगली जनावरहरुको संख्यामा बृद्धि भएको पाइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंबर १३ मा रहेको गौरीशंकर सामुदायिक वनमा जंगली जनावरहरुको संख्यामा बृद्धि भएको सामुदायिक वनका अध्यक्ष दुर्गा बहादुर नेपालीले जानकारी दिनुभयो । पछिल्लो समय सिकार खेल्न नपाइने भएकाले जंगली जनावरका साथै पंक्षीहरुको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । यस्तै जन्मदर बढ्ने भएकाले पनि बढेको हुनसक्ने उहाँले बताउनु भयो । खुलाचरिचरण बन्द भएपछि वनजंगल बाख्लिदै गएकाले र चोरी सिकारी गर्न नमिल्ने भएकाले जंगली जनावरहरुको संख्यामा बृद्धि भएको वनका अध्यक्ष नेपालीले बताउनुभयो । ‘वनजंगलमा गणना गर्ने कुरा त भएन, देखापरेका आधारमा जनावरमा बँदेल र पंक्षीमा सुगाको संख्या धेरै देखिने गरेको छ ।’ उहाँले भन्नुभयो ।
बदेल र सुगाको संख्या धेरै रहेकाले वस्तीमा पुगेर बालीनालीहरु सबै खाइदिने समस्या रहेको पनि उहाँको भनाइ छ । धान, मकै, गहुँ, मसुरो, आलु लगायतका खाद्यान्न बाली खाएर हैरान बनाएको बताउनुभयो । पहिले वन फडानी पनि धेरै हुन्थ्यो, चोरी पैठारी पनि हुन्थ्यो, वनमा छाडा पशुचौपाया चरिचरण धेरै हुन्थ्यो भने अहिले यसमा कडाई गरिएको छ, त्यही भएर पनि वृद्धि भएको हो, अध्यक्ष नेपालीले भन्नुभयो । उहाँका अनुसार पहिलेपहिले धेरै नोक्सानी नगर्ने तर पछिल्लो समय धेरै नै नोक्सानी पु¥याउने गरेका छन् । बँदेलसँगै राते, चित्तल, मयुँर कालिज जस्ता जनावरहरु पनि वनमा पाइने गरेका छन् । तर उनीहरुले बस्तीमा आएर केही क्षति पु¥याउँदैनन् ।
वन डिभिजन कार्यालय र सव डिभिजन वन कार्यालयको स्वीकृति लिएर उपभोक्ताको घरगोठ निर्माणका लागि आवश्यकता अनुसार केही मात्रामा क्युफिटका आधारमा काठहरु उपभोक्तालाई मात्रै पैदावार गर्ने गरेको अध्यक्ष नेपालीले बताउनु भयो । दाउराको लागि भने झाडी सफाइ अन्तर्गतका सानासाना सुकेका हााँगाबिँगाहरु कहिलेकाँही काट्ने गरिएको छ ।
उहाँँका अनुसार वनमा साल, जामुनो, धौँटी, सल्ला, करौती जस्ता बोटविरुवाहरु छन् । ३ सय ५६ दशमलव ४१ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनका २३० घरधुरी उपभोक्ता रहेका छन् ।।


