
दाङ २९ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले गत वर्ष जस्तै यस वर्ष पनि देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाका नवनिर्वाचित अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले संस्कृति जगेर्ना गर्दै सामाजिक क्षेत्रमा उठेको रकम खर्च गर्ने गरि मौलिक देउसीभैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले भैलोलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आउने बैठकमा थप तयारी गर्ने बताएको छ । त्यस्तै बैठकले १० जना सल्लाहकार र १ जना पत्रकारलाई प्रेस संयोजकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । संस्थाको प्रेस संयोजकमा पत्रकार ओमप्रकाश गुप्तालाई नियुक्त गर्दै कानुनी सल्लाहकार सहित १० जना सल्लाहकार मनोनीत गरेको छ ।
यस्तै बैठकले खाता नामसारी गर्ने, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समितिलाई धन्यवाद दिने, साधारणसभाको खर्च अनुमोदन गर्ने लगायतको निर्णय गरेको छ । बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष छविलाल कडेल, महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सह(कोषाध्यक्ष शिवराज भुसाल र सदस्य सिर्जना खड्का, स्वस्तिका खनाल लगायतको उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण महासचिव लोकमणी भुसालले गर्नु भएको थियो ।