
भालुवाङ २९ असोज । दाङको देउखुरी स्थित लाइन्स क्लव अफ लमहीले बुधबार राप्ती गाउँपालिका ८ मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा आवश्यक सामाग्री सहयोग गरेको छ ।सामाजिक उत्तरदायित्व अन्तरगत क्लवले आश्रममा आवश्यक पर्ने १५ हजार रूपैयाँ बराबरको आवश्यक सामाग्री सहयोग गरेको हो । जस अनुसार पि फर्म ९म्याट० २ रोल, खाने तेल २० पोका, सरफ १ बोरा, हात धुने सावुन २५ पिस, लुगा धुने सावुन २५ पिस र फिनाइल २० बोतल सहयोग गरेको छ । क्लवका अध्यक्ष हल्लुप्रसाद चौधरीको अध्यक्षता एवम् आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका अध्यक्ष चौधरीले आश्रमका कार्यवाहक अध्यक्ष चौधरीलाई उक्त सामग्री हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आश्रमका कार्यवाहक अध्यक्ष चौधरीले ५ वर्षको दौरानमा धेरै कुराहरू पार गर्दै आइपुग्दा थुप्रै सहयोगी तथा दयालु मनहरूलाई भेट्ने गरेको र उहाँहरूकै उत्साह तथा प्रेरणाले आश्रमलाई अगाडि बढ्ने हौसला पाएको बताउनु भयो । उहाँले लाइन्स क्लव जस्ता संघ संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूनै साच्चिकै भगवान भएको बताउँदै अध्यक्ष चौधरीले सहयोगी मन भएका व्यक्तिहरूबाटै आश्रम चलिरहेको बताउनु भयो ।
आश्रम खोल्नु ठूलो कुरा होइन त्यसको सञ्चालन र व्यवस्थापन नै मुख्य समस्या रहेको बताउँदै सहयोगी मन भएका व्यक्तिहरूबाट सहयोग नभएमा आश्रम चल्न नसक्ने हुँदा अध्यक्ष चौधरीले सवैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो । अध्यक्ष चौधरीले मान्छेलाई मान्छेकै रूपमा व्यवहार गर्न र आफ्ना परिवार भित्रका सदस्यहरूलाई परिवारले हेर्न सक्ने हो भने आश्रमको आवश्यकता नपर्ने बताउनु भयो । शिक्षित परिवार र शिक्षित समाज भएको भए आज देशैभर यस्ता आश्रम खोल्न पर्ने स्थिति आउदैनथ्यो उहाँले भन्नू भयो ।
त्यस्तै सामाग्री हस्तान्तरण गर्दै क्लवका अध्यक्ष चौधरीले क्लव र आश्रम बीचको सम्बन्ध बढाउन क्लवबाट आश्रममा थोरै भएपनि आवश्यक सामाग्री सहयोग गरेको बताउनु भयो । उहाँले एक पटक मात्र सहयोग गरेर नपुग्ने हुँदा तत्कालका लागि आश्रम सँगको समन्वयमा जाँडो मौसममा चिसोबाट बच्न म्याट सहितका आवश्यक सामाग्री सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा क्लवका एरिया जोन चिप सहाना श्रेष्ठ, प्रथम उपाध्यक्ष लोकमान रिजाल, सचिव उमाकान्त चौधरी, जनसम्पर्क अधिकारी बालगोविन्द चौधरी, क्लव मार्केटिङ कम्युनिकेशन चियर कृष्ण श्रेष्ठ, सचेतक हरिबहादुर कुवर र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन क्लवका सचिव उमाकान्त चौधरीले गर्नु भएको थियोे ।