२०८३ कार्तिक ७ गते शुक्रवार

यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा उत्तम

दाङ, २८ असोज ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो । आउँदो कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । कात्तिक ६ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा। देवमणि भट्टराईले जानकारी दिनुभयो । यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिवारदेखि शुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरू गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतवार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले त्यसै अनुसार पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलवार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म ९म्ह० पूजा भने कात्तिक ५ गते बुधवार हुनेछ । आत्म ९म्ह० पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ शुरू हुन्छ । भाइपूजा र किजापूजा पनि कात्तिक ६ गते मनाइनेछ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।