
काठमाण्डौ, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गर्नुभएको छ । उहाँले इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने बताउनुभएको छ । ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ ।
तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन । इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि बार्ता हुने खबरमा उल्लेख छ । अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् ।।