
काठमाडौं, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रस्ताव सार्वजनिक गरेपछि प्यालेस्टिनी विद्रोही समूह हमासले प्रारम्भिक प्रतिक्रिया दिएको छ । हमासका नेताहरूले प्रस्तावबारे समूहभित्र छलफल भइरहेको जनाउँदै चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।
हमासको राजनीतिक ब्युरोका सदस्य मोहम्मद नज्जालले अल–जजिरा अरबीसँग बिहीबार कुरा गर्दै प्रस्तावमाथि आन्तरिक छलफल जारी रहेको जानकारी दिएका हुन् । उनका अनुसार हमासले प्यालेस्टिनी जनताको हितलाई प्राथमिकता दिँदै निर्णय गर्नेछ । राष्ट्रपति ट्रम्पले मंगलबार सार्वजनिक गरेको २० बुँदे प्रस्तावमा युद्धविराम, हमासको कब्जामा रहेका बन्धक र इजरायली जेलमा रहेका कैदीहरूको अदला–बदली, इजरायली सेनाको गाजाबाट फिर्ता, हमासद्वारा हतियार बिसाउने र अन्तर्राष्ट्रिय नेतृत्वमा अस्थायी सरकार गठनजस्ता विषय समावेश छन् । ट्रम्पले प्रस्ताव स्वीकार गर्न हमासलाई ३–४ दिनको समय दिएका छन् । प्रस्ताव अस्वीकार भएमा गम्भीर परिणामको चेतावनी पनि दिएका छन् ।
युरोपेली संघ, पश्चिमा मुलुकहरू र केही अरब राष्ट्रहरूले पनि हमासमाथि प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेका छन् । तर जबसम्म हमासले औपचारिक निर्णय सार्वजनिक गर्दैन, तबसम्म गाजामा युद्धविरामको सम्भावना अनिश्चित नै रहने देखिन्छ । युद्धविराम कार्यान्वयन भएमा हमासले नियन्त्रणमा राखेका बन्धकहरूको अवस्थाबारे जानकारी खुल्ने अपेक्षा गरिएको छ, जसमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीसमेत परेका छन् ।