अल्बानिया। अल्बानियाले विश्वमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोट ‘डिएला’ लाई मन्त्री बनाएको छ। डिएलाको मुख्य जिम्मेवारी सरकारी खरिद प्रक्रियालाई व्यवस्थित गर्दै भ्रष्टाचार र घूसखोरी रोक्नु हो।
प्रधानमन्त्री एडी रामाले डिएलालाई सार्वजनिक गर्दै भने, डिएलाले सरकारी टेन्डर व्यवस्थापन गर्नेछ र निजी कम्पनीहरूलाई परियोजना दिने निर्णय गर्नेछ। उनका अनुसार, डिएलालाई घूस, धम्की वा पक्षपातले प्रभावित गर्न सकिँदैन, जसले सरकारी टेन्डरलाई भ्रष्टाचारमुक्त बनाउनेछ। अल्बानिया लामो समयदेखि सरकारी टेन्डरमा अनियमितता, लागूऔषध तथा हतियार तस्करीजस्ता भ्रष्टाचारका मुद्दासँग जुधिरहेको छ। डिएलालाई सन् २०३० सम्म युरोपेली संघमा प्रवेश गर्ने लक्ष्यमा सहयोग गर्न नियुक्त गरिएको छ।
डिएला पहिले नै ई(अल्बेनिया प्लेटफर्ममा भर्चुअल सहायकको रूपमा काम गरिरहेकी छन्, जहाँ उनले नागरिक र व्यवसायीलाई सरकारी कागजात प्राप्त गर्न सहयोग गर्ने काम गरिरहेकी थिइन्। डिएला परम्परागत अल्बेनियाली पोशाकमा देखिन्छिन् र आवाजमार्फत आदेश लिन्छिन्।
तर, सरकारले डिएलाको निर्णयमा मानवीय निगरानीको आवश्यकता र ह्याकिङको जोखिमबारे स्पष्ट गरेको छैन।





