अमेरिकामा भएको गोलीकान्डमा २ बालबालिकासहित तीनको मृत्यु

काठमाडौं । अमेरिकाको एक क्याथोलिक विद्यालयमा बुधबार भएको गोलीकान्डमा कम्तीमा दुई बालबालिकाको ज्यान गएको छ । यो घटना मिनेसोटाको मिनियापोलिसको दक्षिणी क्षेत्रमा अवस्थित एक विद्यालयमा भएको हो । घटनामा १७ जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीहरूले आक्रमणकारीलाई पनि मारिएको बताएका छन् । गोली प्रहारको घटना एनुनसिएसन क्याथोलिक चर्चमा भएको थियो, जुन विद्यालयसँग जोडिएको छ । पुलिसले बन्दुकधारी २३ वर्षीय रोबिन वेस्टम्यानको रूपमा पहिचान गरेको छ, जसको कुनै पूवअपराधिक इतिहास थिएन ।

गोलीकान्डमा मृत्यु हुने बालबालिका आठ र दश वर्षका दुई बालबालिका भएको बताइएको छ । जसमा उनीहरू विद्यालय फर्किएको तेस्रो दिन मात्र भएको बताइएको छ । मिनियापोलिसका मेयर जेकब फ्रेले भने, “यो अकल्पनीय कार्यलाई शब्दमा वर्णन गर्न सकिँदैन । यिनीहरूलाई अरू कसैका बच्चा नभई आफ्नै बच्चाका रूपमा सम्झनुहोस् । धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन् ।”

मिनियापोलिसमा २४ घण्टाभित्र चौथो गोलीकाण्ड
मिनियापोलिसमा २४ घण्टाभन्दा कम समयमा यो चौथो गोलीकान्ड हो । मंगलबार दिउँसोदेखि मिनियापोलिसमा तीन अन्य छुट्टाछुट्टै गोलीकाण्ड भएका छन् । मंगलबार दिउँसो करिब १ ः ३० बजे सहरको फिलिप्स क्षेत्रमा भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए । मिनियापोलिसका प्रहरी प्रमुख ब्रायन ओहाराले स्थानीय सञ्चारमाध्यमलाई यो हिंसाको घटना बताएका थिए ।

मंगलबार दिउँसोसम्म यो घटनामा कसैलाई पनि पक्राउ गरिएको थिएन । त्यसपछि मंगलबार राति करिब ८ बजे सहरमा दोस्रो गोलीकान्ड भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको थियो । अर्का एकजना घाइते भएका थिए । प्रहरीका अनुसार, बुधबार बिहान करिब २ बजे तेस्रो गोलीकान्ड भएको थियो, जसमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो । हालसम्म यी गोलीकान्डहरूबीच कुनै सम्बन्ध रहेको संकेत देखिएको छैन । बीबीसी

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया