२०८३ कार्तिक ७ गते शुक्रवार

सभ्य भएर तीज मनाउनुपर्नेमा जोड

तुलसीपुर, ४ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हिन्दु नेपालीहरुको चाडपर्वहरु सभ्य भएर मनाउनु पर्नेका जोड जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि भएकाले अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । पछिल्लो समय तीज लगायतका अन्य चाडपर्वहरू देखाउनकै लागि मनाउने प्रवृत्ति बढेको भन्दै यस्तो प्रवृति त्यागेर सभ्य र सुसंस्कृत भएर संस्कृति संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘चाडपर्वमा खर्च गर्दा घाँटी हेरेर हाड निल्नुपर्छ । आफ्नो आर्थिक हैसियतअनुसार पर्वलाई रमाइलो बनाउनुपर्छ,’ प्रियासनले भन्नुभयो । त्यसैगरी नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य लिला शाहले महिलाहरूका लागि तीजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन जस्ता कार्यक्रमले पत्रकारबीचको आत्मीय सम्बन्ध बलियो हुने बताउनुभयो । नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेलले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने धारणा राख्नुभयो । प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तीज जस्ता पर्वले महिला पत्रकारहरूको हौंसला बढाउने बताउनुभयो । कार्यक्रममा महिला विभाग प्रमुख एवं महासङ्घ दाङ शाखाकी उपाध्यक्ष नारायण रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सरिता चौधरी र सहजीकरण रमा नेपालीले गर्नुभएको थियो ।।  

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।