थारु समुदायको महिलाहरुले मनाउने महान् पर्व अष्टिम्की अर्थात श्रीकृष्ण अन्माष्टमीको चहलपहल बढेको छ । अष्टिम्की आउन अव १ दिन मात्रै बाँकी रहँदा चलहपहल बढेको हो । हरेक बर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउँदै आएको अस्टिम्की यस बर्ष साउन ३१ गते सनिबार परेको छ ।
यस बेला गाउँदेखि सहर बजारसम्मै चहलपहल बढाएको छ । अष्टिम्कीको तयारीका लागि थारु समुदायमा घरआँगन लिपपोत गर्ने, सरसफाइ गर्ने, जंगलबाट सालको पात टिपेर ल्याउने, डुनाटपरी लगाउने काम भैरहेको थारु समुदायमा महिलाहरुले बताउँछन् । यस्तै सहरबजारमा किनमेल गर्न आउने र लत्ताकपडादेखि जुत्ताचप्पल, श्रृंगारसम्मका सामानहरुको जोहो भैरहेको छ । विशेष गरी सेतो गुन्यो र रातो, कालो, हरियो अर्थात आफूलाई मन पर्ने रङको चोल्या लगाउने चलन थारु समुदायमा छ ।
यो पर्वलाई थारु समुदायका महिलाहरुले २ दिनसम्म धुमधामका साथ मनाउँछन् । अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभर केही नखाई व्रत बस्ने गर्दछन् । अष्टिम्कीमा ‘कान्हा’ को जीवनी चित्रणमा भित्तेचित्र कोरेर धुमधामसँग टीका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दछन् । अष्टिक्कीको पहिलो दिन अर्थात व्रत बसेको दिन विहानै मटाँवाको घरको बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनाले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा बनाइन्छ । त्यसैगरी श्री कृष्णको दाँया सूर्य र बाँया भागमा चन्द्रमाको चित्र बनाइन्छ ।
यसैगरी दोस्रो लाईनमा पाँच भाइ पाण्डव र सात भाइ कौरबको चित्र कोरिन्छ। त्यसको तलको भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, लगायत विभिन्न चरा, चरिंगी र जनावरको चित्र बनाइन्छ ।सवै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्दछन् ।
त्यसपछि विभिन्न किसिमको रंङ्गीचंङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरी थरिथरिको गरगहनाले सजिएर एकै समयमा बेलुकीेतिर गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर मटाँवाको घरमा गई पूजा गर्ने गरिन्छ । यस्तै यस पर्वले थारु समुदायको धार्मिक र सांस्कृतिक महत्व पनि बोकेको पर्व हो । अग्रासन अर्थात दिदीबहीनीहरुले आफैले बनाएको मिठा मिठा परिकार मिठो मसीनो खाने कुरा आफ्ना दाजुभाईलाई खान दिने प्रचलन समेत रहेको छ । प्रत्येक वर्ष देवीदेवताको सम्बन्धलाई नविकरण गर्नु र माइती पक्ष र चेलीवेटी विचको मानविय संवेग माया, प्रेम र आस्थाको वर्सेनी नविकरणको रुपमा पनि अग्रासनलाई लिने गरिन्छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।