२०८३ जेष्ठ २३ गते शनिवार

‘बोक्सी’को आरोपमा एकै परिवारका ५ जनालाई जिउँदै जलाएर हत्या

मृतकहरूको कोठा

पूर्णिया (भारत), असार २७ – बिहार राज्यको पूर्णियामा ‘बोक्सी’ को आरोप लगाएर एकै परिवारका तीन महिला र दुई पुरुषलाई जिउँदै जलाएर मारिएको दर्दनाक घटना सार्वजनिक भएको छ। घटना पूर्णियाको राज रानीगञ्ज पञ्चायतअन्तर्गत टेटगामा टोलमा आइतवार राति भएको हो।

मृतकहरू ७५ वर्षीया कातो देवी, उनका छोरा ६५ वर्षीय बाबु लाल उरांव, बुहारी सीता देवी, नाति मंजीत उरांव र तिनकी पत्नी रेखा देवी हुन्। सबै एउटै परिवारका सदस्य थिए। घटनाको कारण केही दिनअघि टोलका एक बालकको मृत्यु र अर्कोको बिरामी परेपछि मृतक परिवारमाथि ‘जादु–टुना’ गरेको आरोप लागेको थियो। त्यसपछि सयौँको संख्यामा जम्मा भएका गाउँलेहरूले पञ्चायतको निर्णयपछि लाठी–डण्डा र हतियारसहित आक्रमण गरेर उनीहरूलाई जलाइ हत्या गरेको बताइएको छ।

घटनामा जीवित बचेका बाबु लालका नाबालिग छोराले भागेर प्रहरीलाई खबर गरेका थिए। शवहरू नजिकैको पोखरीबाट फेला पारिएका छन्। प्रहरीका अनुसार तीनजनालाई गिरफ्तार गरिएको छ भने २३ जनामाथि नाम तोकेर, १५०–२०० जना अज्ञात व्यक्तिविरुद्ध उजुरी दर्ता गरिएको छ। घटनापछि टोलका अधिकांश बासिन्दा फरार छन्। पीडित परिवार त्रासमा छ। यस्तै घटनाले भारतमा अझै जीवित रहेको ’बोक्सी कुप्रथा’ विरुद्ध गम्भीर बहस सिर्जना गरेको छ। बिहार महिला समाजलगायत विभिन्न संघसंस्थाले घटनाको विरोधमा आन्दोलन गर्ने तयारी गरेका छन्।

स्रोतः बीबीसी हिन्दी

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया