२०८३ बैशाख १ गते मङ्गलवार

दाङको गढवा गाउँपालिकामा गएको एक वर्षमा १ सय २१ वटा उजुरी दर्ता

भालुवाङ २१ असार । दाङको गढवा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ को असार १९ गतेसम्ममा जम्मा १ सय २१ वटा उजुरीहरू दर्ता भएका छन् । गत आर्थिक वर्षको २७ वटा उजुरीहरू बाँकी रहेका थिए भने यो आर्थिक वर्षमा मात्र ९४ वटा नयाँ उजुरीहरू दर्ता भएको छ ।
गढवा गाउँपालिका न्यायिक समितिले शुक्रबार गढवामा पत्रकार सम्मेलन गरी न्यायिक समितिको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । न्यायिक समितीमा परेका उजुरीहरू मध्ये हालसम्म ८१ वटा उजुरी फछ्र्यौट भइसकेका छन् भने ४० वटा उजुरीहरू अझै प्रक्रियामा रहेको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितीका संयोजक शारदाकुमारी चौधरीले जानकारी दिइन् ।

जस अन्तर्गत विवाह सम्बन्धी विवादमा ४ वटा उजुरी दर्ता भएका थिए, जसमा २ वटा फछ्र्यौट भइसकेका छन् भने २ वटा अझै बाँकी छन् जग्गा विवादमा सबैभन्दा बढी ३८ वटा उजुरी परेका थिए, जसमा ३४ वटा फछ्र्यौट भइसकेका छन् भने ४ वटा बाँकी छन् त्यस्तै, अंश विवादमा ३३ उजुरीमध्ये १२ वटा मात्रै फछ्र्यौट भएको र २१ उजुरी अझै बाँकी रहेको देखिन्छ । त्यस्तै लेनदेन सम्बन्धी विवादमा ३० उजुरी दर्ता भएका थिए, जसमा २४ वटा फछ्र्यौट भएका छन् भने ६ वटा अझै बाँकी छन् विविध प्रकारका विवादमा १६ उजुरी दर्ता भएका थिए, जसमा ९ वटा फछ्र्यौट भइसकेका छन् भने ७ उजुरी प्रक्रियामा रहेको न्यायिक समिती संयोजक चौधरीले जानकारी दिइन् ।

यस्तै, २६ वटा उजुरीहरू अन्य निकायमा सिफारिस गरिएको छ भने २३ वटा उजुरीहरू आपसी मेलमिलापबाट टुंग्याइएको गाउँपालिकाले जनाएको छ । २१ वटा उजुरीहरू आदेश तथा निर्णय मार्फत डिसमिस वा टामेली फछ्र्यौट भएका छन् । स्थानीय तहमा रहेका विवाद समाधान गर्नका लागि सञ्चालनमा ल्याइएको न्यायिक समितिको कार्यक्षमता प्रभावकारी देखिएको छ । उजुरीहरूको संख्या र फछ्र्यौट दरलाई हेर्दा, स्थानीय न्याय प्रणालीप्रति नागरिकहरूको विश्वास बढ्दो रहेको संकेत पनि देखिन्छ ।

गढवा गाउँपालिकाको न्यायिक समितिले संविधानको धारा २१७ बमोजिम गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भई विवाद समाधानमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार गठित समितिमा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी संयोजक रहने गरी वडा नं. १ का सदस्य देविलाल थारु कुमाल र वडा नं. ७ का वडा सदस्य रेखाकुमारी थापा सदस्य रहेका छिन् ।

समितिले गाउँपालिका स्तरमा देखिएका विभिन्न सामाजिक, पारिवारिक, आर्थिक तथा सानातिना मुद्दा र विवादहरू स्थानीय तहमै समाधान गर्न निरन्तर प्रयास गर्दै आएको छ । समितिको नियमित बैठक, मेलमिलाप प्रयास, पीडितको उजुरी सुन्ने, कानुनी सल्लाह दिने, पक्षहरूलाई वार्तामार्फत सहमति गराउने लगायतका काम प्रभावकारी ढंगले अगाडि बढाइएको छ । समितिले छिटो छरितो न्याय सम्पादनका लागि हप्तामा दुई पटक सोमबार र बिहीबार नियमित रूपमा छलफल गर्दै आएको छ । प्राप्त उजुरीहरूलाई तदारुकताका साथ छलफल गरी मेलमिलापमार्फत टुंगो लगाउने प्रयास भइरहेको छ ।

पीडित पक्षलाई सहजै उजुरी दिने वातावरण सिर्जना गर्नेसँगै, आवश्यक कानुनी सल्लाह र जानकारी समेत प्रदान गरिएको छ । समितिले जातीय, लिङ्ग, धर्म, वर्ग र समुदायजन्य विषयमा समेत निर्णय तथा सिफारिसहरू गर्दै आएको छ । विशेष गरी महिला, दलित तथा सीमावर्ती समुदायका प्राथमिकतामा परेका मुद्दालाई गम्भीरताका साथ सम्बोधन गरिएको छ ।

गढवामा १० बर्ष सम्मको बिबाद मेलमिलापबाट समाधान गरेको न्यायिक समिति संयोजक चौधरीले जानकारी दिए । कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, न्यायिक समिति सदस्य देवीलाल थारु कुमाल, रेखा थापा, उजुरी प्रशासक सुरेश पौडेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया