२०८३ साउन ३ गते आइतवार

गाजामा नरसंहार मच्चाईरहेको इजरेलका विरुद्ध कारबाही गर्ने तीनवटा देशको चेतावनी

फाइल फाेटाे

बीबीसी, ७ वैशाख । ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै इजरेललाई आफ्नो शैली परिवर्तन गर्न आग्रह गरेका छन्। अन्यथा इजरेलविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनी पनि उनीहरूले दिएका छन्।

“इजरेलले फेरि थालेको सैन्य आक्रमण रोकेन र मानवीय सहयोग सामग्रीमाथिका प्रतिबन्ध हटाएन भने हामी जबाफमा ठोस कदम चाल्ने छौँ,“ विज्ञप्तिमा उनीहरूले भनेका छन्। उनीहरूले हमासलाई सन् २०२३ को अक्टोबर ७ मा सो समूहले बन्धक बनाएका मानिसहरूलाई मुक्त गर्न पनि आह्वान गरेका छन्।

“हामीहरू आतङ्कवादविरुद्ध इजरेलीहरूको प्रतिरक्षा गर्न पाउने अधिकारलाई पनि समर्थन गर्छौँ। तर अहिलेको परिस्थिति पूरै एकतर्फी छ।“
इजरेलले पछिल्लो सैन्य कारबाही थालेपछि गाजाका विभिन्न स्थान खाली गर्न उर्दी जारी गरेको छ।

सोमवार राति इजरेलले गरेका हवाई हमलामा परी गाजामा कम्तीमा ३८ जनाको मृत्यु भएको जानकारी बीबीसीले पाएको छ। हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार गाजा सिटीमा एउटा विद्यालय, नुसरत शरणार्थी शिविर र दक्षिणी गाजास्थित देअर अल–बलाहमा इजरेलले हमला गरेको थियो। इजरेलले गाजाका विभिन्न स्थानमा बस्ने मानिसहरूलाई अन्यत्र जान उर्दी जारी गरेको छ।

सोमवार गाजामा एउटा गाडीमा सामान राखेर कतै जाँदै गरेका मानिसहरू

 इजरेलले गाजाका विभिन्न स्थानमा बस्ने मानिसहरूलाई अन्यत्र जान उर्दी जारी गरेको छ

तीन देशका नेताहरूले नेतन्याहूले गरेका तर्कको खण्डन गर्दै गाजामा सङ्घर्षविरामका लागि आह्वान गरेका छन्। तीनवटै सरकारले संयुक्त रूपमा “गाजामा इजरेली सैन्य कारबाही बढाउने कुराको कडा शब्दमा विरोध गरेका छन्“ र “गाजामा मानिसहरूले भोगिरहेको पीडाको स्तर असह्य“ भनेका छन्। उनीहरूले गाजामा “थोरै“ खाद्य सामग्री पठाउन दिने नेतन्याहूको निर्णयलाई “निकै अपर्याप्त“ भनेका छन्।

तीन देशका नेताहरूको चासोबारे कडा प्रतिक्रिया जनाउँदै नेतन्याहूले “अक्टोबर ७ मा इजरेलमा भएको नरसंहारका निम्ति लन्डन, ओटोवा र प्यारिसका नेताहरूले ठूलो पुरस्कार प्रस्ताव गरेर अझै धेरै अत्याचार निम्त्याउन खोजेको“ आरोप लगाएका छन्। उनले युद्ध अन्त्यका लागि केही सर्तहरू अघि सारेका छन्। ती सर्तहरू हमासले बन्धकहरू फिर्ता गर्नुपर्ने, हतियार बिसाउनुपर्ने, हमासका नेताहरू निर्वासनमा जानुपर्ने र गाजालाई अस्त्रहीन बनाउनुपर्ने आदि छन्।

“कुनै पनि राष्ट्रले योभन्दा कम स्वीकार गर्ने अपेक्षा गर्न सकिँदैन र इजरेलले निश्चय पनि गर्दैन,“ उनले भने।

गाजामा खानेकुराका लागि सङ्घर्ष गरिरहेका मानिसहरू

विश्वसनीय अन्तर्राष्ट्रिय सर्वेक्षणपछि गाजामा भोकमरी निम्तिन लागेको चेतावनी दिइएपछि युद्ध अपराध र मानवताविरुद्धको अपराधको कसुरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले खोजी रहेका नेतन्याहूमाथि गाजामाथि नाकाबन्दी अन्त्य गर्न ठूलो अन्तर्राष्ट्रिय दबाव थियो। तर नेतन्याहूले आफूमाथि लागेका फौजदारी अभियोगलाई “यहुदीविरोधी“ भनेका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया