ट्रम्पद्वारा जलवायु परिवर्तन सम्बन्धी ओबामाको नीति रद्द

काठमाण्डौ,१६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको जलवायु परिवर्तन सम्बन्धी नीति रद्द गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले जलवायु परिवर्तन रोक्ने सम्बन्धमा जारी गरेको नीतिहरु रद्द गर्ने सम्बन्धी कार्यकारी ओदशमा हस्ताक्षर गर्नुभएको हो । ट्रम्पको आदेशपछि अब ओबामा प्रशासनले जलवायु परिवर्तन नियन्त्रण सम्बन्धमा जारी गरेका ६ भन्दा धेरै नीति प्रभावित भएका छन् । ओबामा प्रशासनको जलवायु नीति कोइला विरोधी र त्यसका कारण रोजगारी कटौती भएको राष्ट्रपति ट्रम्पको आरोप छ ।

अब रोजगारी बढ्ने ट्रम्पको दाबी छ । ट्रम्पको नयाँ आदेश अनुसार अब कोइलासहित जीवाश्म इन्धनको प्रयोगले बढावा पाउने छ । व्यावसायीक समूहले ट्रम्पको कदमको स्वागत गरेका छन् । तर वातावरण संरक्षणकर्मीसहित यो क्षेत्रमा सरोकार राख्नेहरुले ट्रम्पको कदमको विरोध गरेका छन् । आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले कोइलाको विषयमा हुँदै आएको द्वन्द्व आफूले अन्त्य गरेको दाबी गर्नुभयो ।

अमेरिकी उर्जामा लागेको सरकारी रोकटोक तथा रोजगारी कटौती गर्ने नीतिहरु अन्त्यका लागि आफूले ऐतिहासिक कदम उठाएको ट्रम्पको दाबी छ । चुनावी अभियानको क्रममा ट्रम्पले सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर ल्याउने बताउनुभएको थियो । ट्रम्पको आदेशले ओबामाको स्वच्छ उर्जा योजनालाई रद्द गरेको छ ।

जलवायु परिवर्तनको सम्बन्धमा ओबामा र ट्रम्पको विचार अलग रहेको छ । ओबामाले जलवायु परिवर्तन भइरहेको र यसबाट कोही पनि पर जान नसक्ने बताउँदै आउनुभएको छ । तर ट्रम्प भने त्यसको विपक्षमा रहँदै आउनुभएको छ ।

प्रकाशित मिति : २०७३ चैत्र १६ गते बुधवार
प्रतिक्रिया