दाङका एक हजार तीन सय बढी बालबालिकामा कुपोषण फेला

दाङ, ४ जेठ । दाङमा पछिल्लो १० महिनाको अवधिमा एक हजार तीन सय ४८ बालबालिकामा कुपोषण फेला परेको तथ्यांकले देखाएको हो । पोषणमार्फत जीवन रुपान्तरण परियोजनाले जिल्लाका दशवटै पालिकामा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा गरेको आम स्क्रिनिङमा यति धेरै बालबालिकामा कुपोषण फेला परेको हो । घरदैलोमार्फत गरिएको स्क्रिनिङले जिल्लाका दशवटै पालिकामा कुपोषित बालबालिका भेटिएको परियोजना संयोजक सुरेश चौधरीले जानकारी दिनुभयो । २०२४ जुलाई यता दाङमा सबैभन्दा धेरै एक हजार तीन सय तीनजना मध्यम शीघ्र कुपोषण र ४५ जना कडा शीघ्र कुपोषण भएका बालबालिका भेटिएका हुन् ।

दाङमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा दुई सय सातजना कुपोषित बालबालिका फेला परेका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा दुई सय ५९ जना, बबई गाउँपालिकामा एक सय ५६ जना, राप्तीमा एक सय २६ जनामा कुपोषण फेला परेको तथ्यांकले देखाएको छ । यस्तै दंगीशरण गाउँपालिकामा एक सय २१ जना, गढवामा एक सय १९ जना, शान्तिनगरमा ८८ जना, राजपुरमा ६९ जना, लमहीमा ६९ जना कुपोषित फेला परेका छन् । बंगलाचुलीमा ६७ जना बालबालिकामा कुपोषण फेला परेको परियोजनाको तथ्यांकले देखाएको छ । दाङमा कुल ३७ हजार दुई सय ३४ जना बालबालिकामा स्क्रिनिङ गरिएको परियोजना सञ्चालन गरिरहेको संस्था बेसले जनाएको छ । तथ्यांकले बालकको तुलनामा बालिकामा कुपोषण धेरै भएको देखाएको छ ।

दाङमा ५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालकमा कुपोषण पाइएको छ । यसैविच कुपोषित बालबालिका भेटिएपछि दाङमा उपचार केन्द्र पनि थपिएका छन् । यसअघि दाङमा २९ वटा वहिरंग उपचार सेवा सञ्चालन भएकोमा परियोजनाले अरु १७ वटा बहिरंग सेवा केन्द्र थप गरेको छ । अहिले कुपोषित बालबालिकाको उपचारका लागि दाङमा ४६ वटा वहिरंग सेवा केन्द्र सञ्चालनमा रहेको परियोजनाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया