२०८३ कार्तिक ८ गते शनिवार

लुम्बिनी प्रदेशको बजेटको आकार घट्ने अनुमान

दाङ, २४ वैशाख । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको आकार विगतको भन्दा घटेर आउने भएको छ । चालु आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्रदेशले आगामी वर्ष २० प्रतिशतसम्म घटाएर बजेट ल्याउने विषयमा गृहकार्य सुरु गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ३० देखि ३३ अर्बभन्दा माथि बजेट नबढाउने गरी नयाँ बजेट बनाउन आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिइसक्नुभएको छ ।

सङ्घीय सरकारले आगामी आवमा बजेटको सिलिङ घटाउन भनेपछि त्यसलाई ख्याल गरी बजेट लेखनपूर्व नै मुख्यमन्त्री आचार्यले कार्यान्वयनमा समस्या नपर्ने बजेट निर्माण गर्न निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले टुक्रे कार्यक्रम धेरै हुँदा बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै मुख्यमन्त्रीले घाटा बजेट नल्याउन निर्देशन दिएकाले सोही अनुसार बजेट निर्माणको तयारीमा जुटेको बताउनुभयो ।

प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन नसकेको अवस्थामा आव २०८२/८३ मा यथार्थपरक, चुस्त र सानो आकारको बजेट निर्माणमा आफूहरू जुटेको चौधरीको भनाइ छ । उहाँले ३० लाखभन्दा कमका योजनालाई प्राथमिकता नदिने गरी बजेट बनाउनका लागि मोटामोटी सहमति बनेको बताउनुभयो । कम्तीमा ३० अर्ब र बढीमा ३३ अर्बभन्दा माथिको बजेट नआउने गरी प्रदेशमा बजेटको तयारी गर्ने आर्थिक योजना मन्त्रालयको योजना छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।