२०८३ कार्तिक ८ गते शनिवार

तुलसीपुरमा घरमै प्रसुति हुनेको संख्या शुन्य

तुलसीपुर, १६ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकामा घरमै सुत्केरी हुनेको संख्या शुन्य रहेको छ । चालु आर्थिक वर्ष २०८१। ०८२ को वैशाख १५ सम्म एक जना पनि महिला घरमै सुत्केरी नभएको स्वास्थ्य महाशाखाले जनाएको छ । उपमहानगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा एकजना र आर्थिक वर्ष २०८०/०८१ मा १० जना घरमै सुत्केरी भएकोमा यस वर्ष भने हालसम्म घरमा सुत्केरी भएको रेकर्ड छैन । तुलसीपुरमा एक हजार सात सय ९७ सुत्केरी हुँदा सबै स्वास्थ्य संस्थामै गएर दक्ष प्रसूति सेवा लिएकोे जनस्वास्थ्य निशिक्षक बिमल केसीले जानकारी दिनुभयो । वितेको साढे ९ महिनामा १ हजार ७ सय ९७ जनामध्येबाट दुई सय ६० जना २० वर्षमुनिका महिलाहरु सुत्केरी भएका छन् ।

तुलसीपुरका १९ वटै वडाबाट स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा प्रदान भैरहेको छ । जसमा सबै वडामा रहेका स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच सेवा प्रदान हुने गर्दछ । यातायातको सुविधा, घर नजिकै स्वास्थ्य संस्था भएका कारण स्वास्थ्यसंस्था पुग्न सजिलो भएर स्वास्थ्य संस्थामा प्रसुति गराउने भएकाले घरमै प्रसुति हुनेको संख्या शुन्य रहेको निरिक्षक केसीले बताउनु भयो । यस्तै स्वास्थ्य संस्थामै प्रसुति गराउनुपर्छ भन्ने विषयमा उपमहानगरपालिकाले सचेतनाका कार्यक्रमहरु संचालन गर्ने गरेका कारण पनि सो संख्यामा कमी आएको हो । सुत्केरीका लागि स्वास्थ्य संस्थासम्म जान निशुल्क एम्बुलेन्सको व्यवस्था, गर्भवती महिलालाई निमन्त्रणा कार्ड वितरण समेत उपमहानगरपालिकाले गरेको छ । यसैगरी आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउने महिलाहरुलाई प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ यातायात खर्च स्वरुप पाउने गर्छन् । त्यसमा स्थानीय तहले पनि थप सुविधा दिएका छन् ।

उपमहानगरपालिकामा २१ वटा स्वास्थ्यसंस्थाबाट सेवा प्रवाह भैरहेकोमा ८ वटा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर अर्थात सामान्य प्रसुति सेवा उपलव्ध रहेको जनस्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख ओमपि न्यौपानेले जानकारी दिनुभयो । उपमहानगरका विकट वडाका रुपमा रहेका वडा नंबर १को पवननगर स्वास्थ्यचौकी, १३को फुलबारी, १९ को विजौरी स्वास्थ्य चौकी लयागत वडा नंबर ११ को उरहरी, १५ को डुरुवा र १७ को मानपुर स्वास्थ्य चौकीको वर्थिङ सेन्टरबाट प्रसुति सेवा प्रदान भैरहेको उहाँँले बताउनु भयो । यसका साथै भिमसेन मेट्रो अस्पताल अश्वाराबाट पनि सामान्य प्रसुति सेवा प्रदान हुँदै आएको छ भने तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालबाट शल्यक्रिया सहितको प्रसुति सेवा प्रदान भैरहेका छ ।।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।