२०८३ भाद्र २५ गते बिहिवार

नदीमा डुंगा सयर, बगरमा तरभुजा खेती

तुलसीपुर । गत वर्ष यही समयमा तुलसीपुर–११ को मोतीपुर र दंगीशरण–२ को सरयुडाँडा गाउँ जोड्ने बबई नदीमा बनेको झोलुंगे पुल एकाएक भाइरल बन्यो । विद्यालयहरुमा परीक्षा सकिएकोले बिदाको समय थियो, दिनहुँ त्यहाँ पुग्नेहरुको भीड नै लाग्यो । निरन्तर बगिरहेको बबई नदी, हरियालीले भरिपूर्ण नदी उकास क्षेत्र, दुई गाउँ मात्रै नभएर दुई पालिका जोड्ने पुलमाथिबाट चुरेको खोचमा देखिने सूर्यास्तको मनमोहक दृश्यमा लोभिदै यो क्षेत्रसम्म पुग्नेहरुको संख्या दिनप्रतिदिन बढ्न थाल्यो । करिब तीन महिनासम्म चलेको यो क्रम वर्षायामको शुरुवातसँगै घटेको थियो । पुल मात्रै हुँदा भाइरल बनेको यो ठाउँमा अहिले अन्य आकर्षण थपिएका छन्, यहाँ पुग्नेहरुको संख्या पनि तीब्र गतिमा बढेको छ ।

गत वर्ष विद्यालयको परीक्षा सकिएको केही दिनमा छोराछोरीले जिद्दी गरेपछि तुलसीपुर–५ का रविन पोख्रेललाई तुलसीपुर–११ स्थित मोतीपुर गाउँ नपुगी सुखै भएन । शुक्रबार पनि रविन परिवारसँगै भाइरल पुल क्षेत्रमै भेटिनुभयो । ‘सामाजिक सञ्जालमा मान्छेहरुले पुलमा फोटो खिचेको, नदीमा नुहाएको देखेर छोराछोरीले जिद्दी गरेपछि आएको थिएँ । ठाउँ पनि राम्रै लागेको थियो । यो वर्ष नदीमा डुङ्गा सयर र बगरमा तरभुजा खेती भइरहेको जानकारी पाएको थिएँ, त्यसैले म आफैले ल्याएर आएँ’– उहाँले भन्नुभयो– ‘बजार क्षेत्रभन्दा केही टाढा खाली समय परिवारसँग रमाएलो गर्दै समय बिताउने ठाउँ बनेको छ । मोटरबोटिङ गर्न पाइने हुँदा धेरैको आकर्षण पनि बनेको छ । केही नयाँपन दिन खोजिएको छ । धेरैले प्रकृतिको समिपमा रमाउने अवसर पाएका छन्, केहीले व्यवसाय गर्न पाएका छन् । राम्रो भएको छ ।’

बिदाको समय सदुपयोग गर्न छोराछोरीसहित तुलसीपुर–४ स्थित माइत आएकी बर्दिया सानोश्रीकी सञ्जिवनी घर्तीको घुमफिरका लागि पहिलो गन्तव्य बन्यो, तुलसीपुर–११ मोतीपुरस्थित भाइरल पुल क्षेत्र । घर्ती आफूले पनि व्यावसायिक खेती गर्दै आएकोले नदी छेउमा थालिएको तरभुजा खेती उहाँका लागि चासोको विषय थियो । शुक्रबार छोराछोरीसहित त्यहाँ पुग्नुभएकी घर्तीले तरभुजा खेतीको अवलोकन गर्नुभयो । नदीमा डुंगा सयर र पुलमाथिबाट सूर्यास्तको दृश्य हेरेर फर्किनुभएकी उहाँले यो क्षेत्रमा आउँदा सिकाइ रआनन्द लिने अवसर मिलेको बताउनुभयो । ‘बगरमा खेती गर्छन् भन्ने सुनेको थिएँ, देखेको थिएन । बगरमा पनि खेती हुन्छ होला र ? जस्तो लाग्थ्यो तर यहाँ त रहरलाग्दो तरिकाले तरभुजा खेती भएको रहेछ । जाँगर हुनेले बगरमा पनि खेती गरेर आम्दानी गर्न सक्नेरहेछन्’– उहाँले भन्नुभयो– ‘खुला ठाउँमा धेरै मान्छेहरुको चहलपहल, मोटरबाटै यहाँसम्म आउन सकिन्छ । नजिकै वन, नदी, पहाड नियाल्न पाइने, नदीमा आनन्दले डुंगा चढ्न पाइन्छ । त्यसैले पनि यो क्षेत्र पर्यटकीयस्थल बन्नसक्छ जस्तो लाग्यो ।’

उहाँहरु जस्तै अहिले भाइरल पुल क्षेत्रमा पुग्नेहरुको संख्या बढिरहेको छ । गत वर्ष पुल मात्रै हुँदा धेरैले अवलोकन गरेर भाइरल बनेको यो ठाउँमा यो वर्षदेखि भीमसोरा मल्टिप्रपोज प्रालिले करिब डेढ बिगाह नदी उकास क्षेत्रमा तरभुजा खेती र मोटरबोटको शुरुवात गरेको छ । ‘हामीले तरभुजा खेती केही समयअघि शुरु गरे पनि मोटरबोट सोमबारबाट औपचारिकरुपमा शुरु गरेका हौं तर मोटर बोटिङ गर्नेहरुको संख्या बढी हुँदा धान्न धौधौ परेको छ ।

हामीसँग बोट एउटा मात्रै छ तर बोटिङ गर्नेको संख्या यसरी बढ्यो कि जो हामीले सोचेकै थिएनौं’– उहाँले भन्नुभयो– ‘यो केही दिनमै यहाँ आउनेहरुको संख्या हेर्दा मान्छेहरुले रमाउने उपयुक्त ठाउँ खोजेका रहेछन् भन्ने बुझिन्छ । यस्ता सम्भावित पर्यटकीय ठाउँहरुको पहिचान गरेर सरकार तथा निजी क्षेत्रहरुले लगानी गर्ने हो भने पर्यापर्यटनलाई बढावा दिन सकिन्छ ।’ प्रालिले स्थानीय मोती सामुदायिक वनको क्षेत्र पर्ने उक्त ठाउँ वार्षिक ७० हजार रुपैयाँमा तीन वर्षका लागि भाडा सम्झौता गरेको र स्थानीय सरकारलाई पाँच प्रतिशत मनोरञ्जन कर, व्यावसायिक कर तिर्ने गरी अनुमति लिएर बोटिङ पुल सञ्चालन तथा तरभुजा खेती थालिएको डाँगीले बताउनुभयो । प्रालिले कृषि उत्पादनलाई नै प्राथमिकता दिने बताउँदै डाँगीले केही समयमै अग्र्यानिक तरकारी खेती पनि सञ्चालन गरिने जानकारी दिनुभयो ।

स्थानीयहरुलाई आयआर्जनमा जोडिने अवसर

तुलसीपुर–११ मोतीपुर गाउँका २८ वर्षीय प्रशान्त चौधरी पेशाले सिकर्मी हुनुहुन्छ । अहिले भाइरल भएको ठाउँ कुनै बेला उहाँले गाईगोरु चराउने ठाउँ थियो । अहिले भने यो क्षेत्र उहाँले व्यवसाय गर्ने थलो बनेको छ । मान्छेहरुको चहलपहल बढ्न थालेपछि चौधरीले यो क्षेत्रमा किराना पसल सञ्चालन गर्नुभएको छ । व्यवसाय शुरु गर्दाकै दिनदेखि दैनिक ५÷६ हजारसम्मको व्यापार गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले घरगोठ बनाउने कामको त्यति चापाचाप छैन । ५÷६ कट्ठामा बेमौसमी तरकारी खेती पनि गरेको छु ।

बिहानभर त्यताको काम भ्याएर दिउँसोदेखि यता पसल चलाउँछु । व्यापार पनि ठिकैभ एको छ ।’ बेलटाकुराका टोपबहादुर चन्दले गाउँमै चाट पसल गर्न थालेको दुई वर्ष भयो । केही दिन यता गाउँकै मान्छेहरुले भाइरल पुलतिर व्यापार गर्दा धेरै कमाइ हुने सल्लाह दिएपछि बुधबारदेखि उहाँले पनि यही क्षेत्रमा भाइरल चाट भण्डार सञ्चालन गर्दै आउनुभएको छ । यहाँ चाट पसल चलाउँ‘दाप हिलाको तुलनामा दोब्बर बिक्री भइरहेको उहाँले बताउनुभयो ।

हेर्दा देखिने र छाम्दा भेटिने विकासको अवधारणासहित वडा सरकार अगाडि बढिरहेको अवस्थामा केही योजना लिएर युवाहरुको समूह आएपछि वडाको तर्फबाट सहजीकरणका लागि भूमिका निर्वाह गरिएको तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो । ‘अहिले दैनिक हजारौंको संख्यामा मान्छेहरु हाम्रो वडामा आएका छन् । यहाँका नागरिकहरुलाई आयआर्जनसँग जोडिने अवसर मिलेको छ । विगतमा कल्पना नै नगरिएको ठाउँ अहिले पर्यटकीयस्थल बनेको छ । यो पनि एउटा विकास हो’– उहाँले भन्नुभयो– ‘जिल्लाबाट मात्रै नभएर छिमेकी जिल्लाबाट पनि घुम्नका लागि मान्छेहरु आउने वातावरण बनेको छ । विगतमा हामीले उद्यमसँग जोडन् नसकेको प्राकृतिक स्रोत अहिले उद्यममा जोडिएको छ । यसबाट राजस्व पनि संकलन पनि भएको छ । यसलाई अझै कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेतर्फ वडा लागिरहेको छ ।’ युगबोधमा एकराज भण्डारीले लेखनु भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।