२०८३ बैशाख ४ गते शुक्रवार

तुलसीपुरमा कक्षा ८ को वार्षिक परिक्षाको नतिजा सार्वजनिक

तुलसीपुर, २३ चैत । दाङको तुलसीपुरमा सञ्चालित आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ।त्यस्तै, चार विद्यालयमा भने एकरएक जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार, तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोट, वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नं. १० मा रहेको जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुतीर्ण भएका छन्।मावि प्रतापकोटबाट १९, मावि बेल्झुण्डीबाट १५ र जनजागृति माविबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

त्यस्तै, चारवटा विद्यालयमा एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। ती विद्यालयहरूमा सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम, र आधारभूत विद्यालय लोहाडबरा खौसापुर रहेका छन्। सृजनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्रीसंक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, ती सबै विद्यालयबाट एक / एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्।

यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरीका विद्यार्थी रहेका छन्। यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८ जना उत्तीर्ण भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो। परीक्षा सम्पन्न भएको १३ दिनपछि शिक्षा महाशाखाले नतिजा सार्वजनिक गरेको हो।।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार
प्रतिक्रिया