तुलसीपुर, १८ चैत । आजदेखि दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाउँ विमानस्थलमा तीन महिनापछि पुनः हवाई सेवा शुरू भएको छ ।अब प्रत्येक सोमवार उडान हुने नेपाल एअरलाइन्सका स्टेशन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले यात्रुको माग अनुसार उडान थप गर्न पनि सकिने बताउनुभयो । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गएको पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।
जहाज अनियमित हँदा आज आएको जहाजले २ जना यात्रु मात्र लिएर काठमाण्डौँ फर्किएको छ । टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।अहिले विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।