२०८३ असार २६ गते शुक्रवार

स्वर्गद्वारी गुठीपीडितको आन्दोलन २६ औँ दिन पुग्दा पनि सरकारले चासो नदिएको गुणासो

तुलसीपुर, १५ फाल्गुन । राजधानी केन्द्रित आन्दोलन गरिरहेका स्वर्गद्वारी गुठीपीडित किसानहरु आन्दोलन उत्रिएको २६ औँ दिन पुग्दा पनि आफ्ना माग सम्बोधन नभएको गुणासो गरेका छन् । दाङका गुठीपीडित किसानहरु माघ १९ गतेदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । गुठी ऐन जारी गरी किसानहरुको माग सम्बोधन गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

झण्डै एक महिना पुग्नै लाग्दा समेत आफ्नो माग सम्बोधनका लागि राज्यको कुनैपनि निकायले चासो नदेखाएको गुणासो किसानहरुको छ । तर राज्यले माग सम्बोधन नगर्दासम्म अनिश्चित कालीन रुपमा धर्नामा बसिरहने सरकारलाई चेतावनी दिदै आएका छन् । पुस्तौंदेखि आफूले जोतभोग गरेको जमिनमा कायम भएको मोहीयानी हक कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । तर २०६२ चैत १४ मा सर्वोच्च अदालतको परमादेशबाट मोही पूर्जा खारेज भएपछि किसानहरु आन्दोलित भएका हुन् । सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश दिएको थियो ।

तर सरकारसँग विशेष गुठी ऐन ल्याउने सहमति गरेका किसानहरुले सहमति भएको एक वर्ष बितिसक्दा पनि कानुन बनाउन पहल नगरेको भन्दै फेरि आन्दोलन थालेको संघर्ष समितिका संयोजक प्रभु चौधरीले बताउनुभयो । उनीहरुले गुठी ऐन जारी गरी किसानहरुको मोही हक कार्यान्वयन गरिनुपर्ने माग गरिरहेका छन् । नेपालको संविधान २०७२ मै द्वैध भू–स्वामित्व अन्त्य गर्ने उल्लेख भएकाले किसानको माग सम्बोधन गर्न भन्दै किसानहरु निरन्तर आन्दोलनमा छन् । प्युठानमा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको दाङमा रहेको एक हजार ५० बिगाह जमिनमध्ये सात सय ५३ दशमलव चार बिगाह जमिनमा किसानको मोही कायम छ । स्वर्गद्वारी गुठीको दाङका १२ मौजामा तीन हजार पाँच सय घरधुरीका १६ हजार दुई सय ६७ किसान आश्रित छन् ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया