२०८३ बैशाख ११ गते शुक्रवार

माघको पूर्वसन्ध्यामै माघ महोत्सवको प्रतिष्पर्धा

गैर थारु समुदायमा पनि माघको पहिचान दिन सहज बन्दै

तुलसीपुर,१७ पुष । सल्यान जिल्लामा जन्मिएका दिगम्बर बुढाथोकी २०६० सालमा दाङ आउनुभयो । उहाँलाई दाङ आएपछि मात्रै थारु समुदायको बारेमा थाहा भयो । सल्यान, रोल्पा, रुकुम भनेकै मगर लगायत अन्य समुदायको बसोबास रहेकोे क्षेत्र हो । त्यसैले पनि उनलाई थारु समुदाय, कला, संस्कृति, भेषभूषा केही पनि थाहा थिएन । तर उहाँले थारु भाषाबाट बोलेको भने रेडियोमा मात्रै सन्नुभएको थियो । ‘थारु समुदाय छ भन्ने सुनेको थिएँ’ उहाँले भन्नुभयो– ‘त्यही पनि रेडियोमा ।’ २०६० सालमा सल्यानबाट उनका परिवार दाङ बसाईसराई गरेर आएको उहाँले बताउनुभयो ।

‘यहाँ आएपछि थारु समुदायहरुसँग विस्तारै चिनजान बोलचाल हुँदै गयो’ उहाँले भन्नुभयो –‘अनि थारु भाषा, कला, संस्कृति, भेषभूषा धेरै नै मन पर्न थाल्योे ।’ थारु समुदायका साथीहरु भएको र थारु समुदायमा गएर माघी पर्व मात्रै होइन, अन्य पर्व पनि मनाउने गरेको बताउनुभयो । यसै गरी माघीको पूर्वसन्ध्यामा मनाउने माघी महोत्सव आफूलाई धेरै राम्रो लाग्ने र आफू पनि सहभागी हुने गरेको उहाँको भनाइ छ ।‘माघी आउन केही दिन बाँकी छ’ उहाँले भन्नुभयोे–‘तर मैले माघीमा थारु समुदायका साथीहरुको घरमा गएर माघी मनाउने योजना बनाइसकेको छु ।’
यस्तै रुकुमबाट २०६३ सालमा दाङ बसाइसराई गरेर आएकी तुलसीपुर १२ निवासी भवानी कुसारीलाई पनि थारु कला संस्कृतिको बारेमा जानकारी थिएन । दाङ आएपछि विद्यालयमा भर्ना भएर पढ्न जान थालेपछि उनीसँगै पढ्ने केही थारु समुदायका विद्यार्थीहरु पनि थिए । उहाँलाई पहिलेपहिले आप्mनै कक्षामा पढ्ने थारु समुदायको साथीले बोलेको सुन्दा अचम्म लाग्ने गरेको सुनाउनुभयो । ‘मलाई खुबै जिज्ञासा लाग्थ्यो’ उहाँले भन्नुभयो– ‘के बोलेको होलान् ? कसरी बुझ्छन् होला, यस्तो भाषा?’ विस्तारै विद्यालयका साथीहरसँगसँगै उनीहरुको घरपरिवार र थारु समुदायको भाषा सँगसँगै भेषभूषा, कला, संस्कृति चाडपर्वको बारेमा थाहा पाएको बताउनुभयो ।

‘पहिले मोवाइलहरु पनि हातहातमा थिएन, अहिलेको जस्तो सामाजिक सञ्जालको पहुँच पनि थिएन’ उहाँले भन्नुभयो– ‘अव त सामाजिक सञ्जाल फेसबुकस युटुवमा हेर्न मिल्छ, हेर्छु पनि, निकै रमाइलो लाग्छ ।’ यसरी थारु समुदायको बारेमा जानकारी पाएको म आजभोली विभिन्न स्थानमा मेला तथा माघी महोत्सवहरुमा जाने गरेको बताउनुभयो । ‘हिजो आज माघी महोत्सव धेरै ठाउँमा लाग्ने गर्दछन्,’ उहाँले भन्नुभयो– ‘थारुहरुको कला, संस्कृति हेर्न पनि जान्छु, खुवै रमाइलो र खुशी लाग्छ ।’
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ४ मजुवाकी रीता केसी दाङमै जन्मिएर यही हुर्किनुभयो । सानै देखि उनी यहीको बासिन्दा भए पनि उहाँलाई थारु समुदाय र उनीहरुको कला, संस्कृतिबारे त्यति धेरै जानकारी थिएन । उहाँ सानो हुँदा माघीमा उहाँको गाउँघरतिर थारु समुदायका युवा युवतीहरु माघीमा सामुहिक रुपमा नाच्न जान्थे । उहाँले त्यही नाच टाढैबाट मादल, बाँसुरीको आवाज, गीतको लय सुनेपछि दौडेर जाने गरेको बताउनुभयो । ‘मादल बजेको सुन्ने बित्तिकै थारुको नाच आयो भन्दै दौडेर हेर्न जान्थे’ उहाँले भन्नुभयो– ‘निकै रमाइलो लाग्थ्यो ।’ उमेर बढ्दै गएपछि विद्यालयमा साथीहरुका कारण थारु समुदायको माघी पर्वको बारेमा थाहा पाएको उहाँको भनाइ छ ।

‘विद्यालयमा थारु समुदायका साथीहरुसँग संगत गर्न पाइयो’, उहाँले भन्नुभयो–‘अनि उनीहरुसँगै साथीहरुको घरमा जाने, खाने, समाइलो गर्ने पहिले पनि गर्थे, र अहिले पनि जाने गर्छु, धेरै राम्रो रितिरिवाज र परम्परा छ ।’ माघी महोत्सवहरुले थारु समुदायकोे कला संस्कृतिबारे जान्ने, बुझ्ने मौका मिलेको उहाँले बताउनुभयो । ‘महोत्सवमा थारु परिकारहरु पनि पाइन्छन्’ उहाँले भन्नुभयो– ‘कोही रमाइलो गर्न, कोही नाच हेर्न र कोही थारु परिकार खानकै लागि माघी महोत्सवहरुमा जाने गर्दछन् ।’


जिल्लाका विभिन्न स्थानमा माघ महोत्सवहरु सुरु भइरहेता पनि थारुहरुको मौलिक परम्परागत कला, संस्कृति संरक्षणमा भने चुनौती नै रहेको थारु बुद्धिजीवी रोहित थारुले बताउनुभयो । संस्कृति बचाउने नाममा भइरहेको माघी महोत्सवहरु औपचारिकतामा मात्रै सीमित भइरहेको कोही भन्ने उहाँको भनाइ छ । थारु संस्कृतिमा कतिपय विकृति पनि रहेको भन्दै विकृतिरहित संस्कृति, मौलिक कला र सभ्यता संरक्षण गर्नका लागि धेरै तयारी गरेर मात्रै माघी महोत्सवको आयोजना गरेमा वास्तविक संस्कृति झल्किने उहाँले बताउनुभयो । ‘नयाँ पुस्ताले थारु रीति, कला, संस्कृति विर्सन थालेका छन्’ उहाँले भन्नुभयोे,– ‘त्यसैले नयाँ पुस्तालाई मौलिक कला संस्कृतिबारे सिकाउन आवश्यक छ ।’

भूइह्यार हराउने, भाषा, चालचलन हराउने हो भने थारुको पहिचान नै हराउने भन्दै माघी मेला, महोत्सवले पनि थारु संस्कृतिको जगेर्ना गर्न भूमिका खेलेको बताउनुभयो । माघी महोत्सवले दिने सन्देशले थारु समुदायमा नयाँ उर्जा थपिने गरेको पनि बुद्धिजीवी थारुले बताउँछन् । एक ठाउँमा माघी महोत्सव लाग्यो भने अर्को ठाउँका थारु अगुवाहरुले पनि लोप हुँदै गइरहेको कला, संस्कृति संरक्षणका लागि पनि माघी महोत्सव लगाउनुपर्छ है भन्ने सोच जाग्ने र महोत्सवको आयोजना गरिने गरेको उहााको भनाइ छ । उसले गर्दा हराइरहेका तथा लो हुँदै गएका संस्कृति बचाउनका लागि केही न केही भुमिका महोत्सवको पनि रहेको उहाँले बताउनुभयो ।
थारु समुदायको महान पर्व माघ अर्थात नयाँ वर्ष नजिकिएसँगै दाङका विभिन्न स्थानमा माघ महोत्सव लाग्न थालेका छन् । थारु समुदायको सबै भन्दा ठूलो पर्व र नयाँ वर्षको रुपमा लिइने माघ पर्वलाई पछिल्लो समय महोत्सवको रुपमा मनाउन थालिएको छ । माघ आउन अव दुई साता बाँकी छ यस वेला थारु समुदायमा माघको चहलपहन सुरु भएको छ । पहिले पहिले माघमा खाने परिकारको तयारी, जंगलबाट मालुको पात टिपेर ल्याउने, मादल किन्ने तथा पुराना मादललाई सजाउने, मघौटा नाचमा आवश्यक पर्ने सम्पूर्ण हस्तनिर्मित सामग्रीहरु, लहंगा, सट्की सिलाउने, कस्तार, चट्कौली, झाली बनाउने कामले माघको झझल्को दिने गथ्र्यो भने पछिल्लो समय माघ महोत्सव तथा सांस्कृतिक कार्यक्रमले माघको झझल्को दिने गरेको छ । माघ महोत्सवका लागि यति बेला गाउँ गाउँमा तयारीलाई तीव्र बनाएका छन् ।

पहिले पहिले परिवार र समाजमा मात्रै सीमित रहने थारुहरुको महान पर्व माघी पछिल्लो समय खुला मासमा हुन थालेपछि गैर थारुहरुले पनि माघी पर्व कस्तो हुन्छ भनेर अनुभव गर्न पाएका छन् । माघी मनाउने शैली परिवर्तन भएसँगै उनीहरुले अनुभव गर्ने मात्रै होइन थारु समुदायसँग सँगै बसेर रमाइलो गर्ने, खाने, नाच्ने समेत गर्दछन् । पहिले थारु समुदायसँग नजिक रहेका गैर थारु समुदायका नागरिकहरुले माघीको बारेमा थाहा पाउँथे भने थारु समुदायदेखि टाढा रहेका अर्थात थारु समुदायको बसोबास नरहेका स्थानका गैर थारु समुदायका नागरिकहरुलाई माघीको बारेमा थाहा पाउँदैनथे । कसैले माघीको बारेमा आफुलाई भनेपछि मात्रै थाहा पाउँथे । आजभोली भने गैर थारु समुदायका नागरिहरुको बसोबास रहेको जिल्लामा पनि माघीको बारेमा थाहा पाउने र जानकारी हुने अवस्थाको सिर्जना भएको छ ।

यसले गर्दा थारु र गैर थारु समुदाय सबैको लागि सकारात्मक पक्ष रहेको थारु अगुवाहरु बताउँछन् । विशेष गरी थारु समुदायले माघी पर्वलाई धुमधामका साथ मनाउने र माघी महोत्सवको आयोजना गरिरहेका छन् । माघी महोत्सवले रमाइलोका साथसाथै थारुहरुको मौलिक परम्परागत कला, संस्कृति, भेषभूषा सबै झल्काउँछ ।

 

 माघको पूर्वसन्ध्यामै माघ महोत्सव प्रतिष्पर्धा

यसैविच थारु कल्याणकारिणी सभा दाङले घोराहीमा दुइदिने माघ महोत्सव आयोजना गरेको छ । सभाका अध्यक्ष अशोक चौधरीले पुष १८ र १९ गते घोराहीमा माघ महोत्सव आयोजना गरेको जानकारी दिए । थारु कला, संस्कृतिकोे संरक्षण र प्रद्धर्वन गर्ने उद्देश्यले हरेक बर्ष माघ साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । १८ गते साँझ ५ बजेदेखि धुम्रु गीत गाउँदै बजार परिक्रम गर्ने र राती १० बजेसम्म कार्यक्रम स्थलमा ढुम्रु गाउने र १९ गते मघौटा नाच गान कार्यक्रम गर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसैगरी थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र नमुना भुँह्यार थान समिति तुलसीपुरको संयुक्त आयोजनामा पुस २३ र २४ गते तुलसीपुरमा माघ महोत्सव आयोजना गरिएको सभाका सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो  ।

दंगीशरण गाउँपालिकाको आयोजनामा हेकुलीमा २६ र २७ गते, शान्तिनगर थारु समाजको आयोजनाम शान्तिनगर ५ वैशामा पुस २५ र २६ गते दुइदिने माघ महोत्सवको आयोजना गरिएको छ । तुलसीपुर–७ मोतीपुरमा रहेको एकता टोल विकास संस्थाको आयोजनामा लोपोन्मुख थारु संस्कृति कला संरक्षण अभियान वडास्तरीय कार्यक्रम सोमबार सम्पन्न भैसकेको छ ।।

 

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया