अमेरिकामा आज मतदान हुँदै, सर्वेक्षण अनुसार ट्रम्पभन्दा ह्यारिस अगाडि

एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । एनबीसी न्युजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ । ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन् । विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन । तर यो सर्वेक्षण निर्वाचित हुनका लागि यकिन छैन । सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन । जसका कारण दुईमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुन देशभरको समग्र मत बढी ल्याएर मात्र पुग्दैन । अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित भएकाले कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ । सन् २०१६ मा देशभरिबाट पाएको मत हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम भएको अवस्थामा पनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् २००० मा राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन दलका जर्ज डब्लु बुसले डेमोक्रेटिक उम्मेदवार अल गोरको भन्दा पाँच लाख कम मत पाएका थिए । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । दलहरूले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्छन । इलेक्टरले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्छन ।
दुई उम्मेदवारले पाएको इलेक्टोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत सबैभन्दा बढी इलेक्टोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छान्छ । यस्तो प्रक्रियाबाट अमेरिकामा सन् १८२४ मा मात्र राष्ट्रपति निर्वाचित गरिएको छ । राष्ट्रपतिमा विजयी भएका उम्मेदवारले चयन गरेका उपराष्ट्रपतिका उम्मेदवार पनि स्वतः निर्वाचित हुन्छन । ट्रम्पले जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदारमा अघि सारेका छन् भने ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने निर्णय लिएकी छन् । ५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।

विगतको नतिजालाई हेर्ने हो भने ह्यारिसले सबैभन्दा बढी इलेक्टोरल मत रहेको क्यालिफोर्निया (५४), न्युयोर्क (२८) र इलिनोई (१९) सहित २२६ इलेक्टोरल मत ल्याउने लगभग निश्चित छ । यो अवस्थामा राष्ट्रपतिमा निर्वाचित हुन ह्यारिसलाई कम्तीमा थप ४४ इलेक्टोरल मत आवश्यक पर्नेछ । त्यस्तै ट्रम्पले टेक्सास (४०), फ्लोरिडा (३०), ओहायो (१७) सहित कम्तीमा २१९ इलेक्टोरल मत पाउने निश्चितजस्तै छ । उनका लागि अब राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा थप ५१ इलेक्टोरल मत चाहिन्छ । हालसम्मको अवस्थामा ७ राज्यको इलेक्टोरल मत कुन उम्मेदवारलाई जान्छ भन्ने यकिन छैन । निर्वाचन परिणाम नै निर्धारण गर्ने यस्ता राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भनिन्छ ।

पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ । एबीसी न्युजको सर्वेक्षणअनुसार यी सात राज्यमध्ये मिसिगन र विस्कन्सिनमा मात्र ह्यारिस अगाडि छिन । अन्य पाँचमा ट्रम्प अगाडि देखिएका छन । तर उनको अग्रता मत कुन उम्मेदवारलाई दिने भन्ने निर्णयमा पुग्न बाँकी पाँच प्रतिशत मतदाताभन्दा निकै कम छ । एट्लस इन्टेल सर्वेक्षणले भने मिसिगनबाहेक ६ राज्यमा ट्रम्प अगाडि रहेको जनाएको छ । त्यसैले दुवै उम्मेदवार ‘ब्याटलग्राउन्ड स्टेट’ को चुनावी अभियानमा केन्द्रित छन । दुवै उम्मेदवारले यी राज्यमा प्रचार तीव्र पारेका छन । ‘ब्याटलग्राउन्ड स्टेट’ मा ट्रम्पले भन्दा ह्यारिसले विज्ञापनका लागि बढी खर्च गरेकी छन ।

अक्टोबर ७ सम्मको तथ्यांकअनुसार ह्यारिसले पेन्सिलभेनियामा १५ करोड ९० लाख, मिसिगनमा १२ करोड ६० लाख, जर्जियामा ७ करोड ३० लाख, विस्कन्सिनमा ७ करोड ५० लाख, एरिजोनामा ६ करोड २० लाख, नर्थ क्यारोलाइनमा ५ करोड ५० लाख र नेभादामा ४ करोड ४० लाख अमेरिकी डलर विज्ञापनका लागि खर्च गरेको बीबीसीले जनाएको छ । ट्रम्पले भने विज्ञापनका लागि पेन्सिलभेनियामा १२ करोड २० लाख, मिसिगनमा ७ करोड ८० लाख, जर्जियामा ७ करोड २० लाख, विस्कन्सिनमा ५ करोड ३० लाख, एरिजोनामा ४ करोड ९० लाख, नर्थ क्यारोलाइनमा ४ करोड ४० लाख र नेभादामा २ करोड २० लाख अमेरिकी डलर खर्च गरेका छन् ।

ट्रम्पलाई भन्दा ह्यारिसलाई २७० इलेक्टोरल मत पु¥याउन केही सहज हुने देखिन्छ । पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिनमा जितेको खण्डमा उनी राष्ट्रपति निर्वाचित हुन सक्छिन । चुनावी सर्वेक्षणले यी तीन वटै राज्यमा कडा प्रतिस्पर्धा देखाएको छ । मिसिगन र विस्कन्सिनमा ह्यारिस केही अगाडि देखिएकी छन् भने पेन्सिलभेनियामा दुई उम्मेदवार बराबरीको अवस्थामा छन । ह्यारिसलाई यी तीन राज्यमा जित हासिल गर्न केही सहज देखिन्छ । यी तीन राज्यमा २०१६ को चुनावमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन निकै कम मतान्तरले हारेकी थिइन् भने २०२० को चुनावमा जो बाइडेन विजयी भएका थिए । तर यीमध्ये कुनै एक राज्यमा ट्रम्प विजयी भएको खण्डमा राष्ट्रपति बन्न ह्यारिसले अर्को राज्यमा जित्नुपर्छ । यस्तो अवस्थामा उनका लागि नर्थ क्यारोलाइना वा जर्जिया विकल्प हुन सक्छ । यसअघिको चुनावमा जर्जियामा विजयी भएका बाइडेन नर्थ क्यारोलाइनमा झिनो मतान्तरले पराजित भएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया