जापानको सत्तारुढ दलले बहुमत गुमायो

काठमाडौँ, १२ कात्तिक ।  जापानमा सात दशकदेखि शासन गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ । हिजो भएको चुनवामा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो । जापानको तल्लो सदनमा रहेको चार सय ६५ सीटमध्ये एलडीपीले एक सय ९१ सीट मात्रै जितेको छ । एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा दुई सय १५ सीट भएको छ ।

बहुमतका लागि दुई सय ३३ सीट आवश्यक पर्छ । एलडीपीको नेतृत्वका लागि गएको महिना भएको चुनावमा सामान्य बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो । तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया