त्रिविले स्नातक तहका सबै प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने

काठमाडौँ, ६ कात्तिक । त्रिभुवन विश्वविद्यालयले सबै सङ्कायका ब्याचलर्स अर्थात् स्नातक तहका वार्षिक परीक्षा प्रणाली हुने विषयको प्रश्न पत्र यस वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर पहिलो चरणमा हाललाई बीबीएस, बीए, बीएड, र एलएलबीको परीक्षामा सोधिने प्रश्न नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको हो ।

अब सञ्चालन हुने पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी तयारी गरिएको र यो व्यवस्था दोस्रो, तेस्रो र चौथो वर्षमा क्रमशः लागु गरिने त्रिविले जनाएको छ । त्रिविले अहिले अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र निर्माण गर्दै आएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले गत चैत १५ गते अङ्ग्रेजी र नेपाली दुवै भाषामा पश्नपत्र तयार पार्ने निर्णय गरेको थियो ।।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया