आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

काठमाडौं, १२ असोज ।  इजरायलले लेबनानमा हिज्बुल्लाहबिरुद्धको आक्रमण थप तीब्र पारेपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानको तयारी गरेको छ । रक्षा मन्त्रालयले जापानी नागरिकलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

जापानले सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ । इजरायलको सेनाले लेबनानको राजधानी बेरुतका भवन लक्षित आक्रमण गरिरहेको छ । ती भवनमुनि हिज्बुल्लाहले हतियार भण्डार गरिरहेको उसको दाबी छ । लेबनानको राजधानीको दक्षिणी क्षेत्रमा रहेका भवन खाली गर्न मानिसलाई आग्रहपछि आक्रमण तीब्र भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेनालाई हिज्बुल्लाहविरुद्ध पूर्ण शक्ति लगाएर लड्न निर्देशन दिनुभएको छ ।।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया