२०८३ भाद्र २६ गते शुक्रवार

सल्यानको छत्रेश्वरीमा ८२१ खानेपानीका धारा जडान

सल्यान, ९ भदौ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८२१ खानेपानीको धारा जडान गरिएको छ । पालिकाका सबै नागरिक समक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८२१ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो । जसबाट पाँच हजार ३६० जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्नका लागि पालिकाको आफ्नै लगानी तथा विभिन्न दातृ निकाय, संघसंस्था एवम् परियोजनाहरुसंगको सहकार्य र साझेदारीमा योजना सञ्चालन गर्दा एक वर्षको अवधिमा ८२१ बढी घरधुरीमा खानेपानीको धारा निर्माण गर्ने सफलता मिलेको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिनुभयो । पालिकाका विभिन्न ३६ योजना तथा गाउँपालिकासंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) मार्फत घरघरमा धारा निर्माण गरिएको उहाँको भनाई छ । एक गाग्री खानेपानीको जोहो गर्न निकै दुःख भोग्नेगरेका छत्रेश्वरीका स्थानियले अहिले घरमै धारा निर्माण भएर नियमित पानी आउन थालेपछि खुसी व्यक्त गरेका छन् ।

पानीको समस्यासंगै सबैभन्दा बढी जुध्ने गरेका छत्रेश्वरीकै वडा नं ७ स्थित पानीखोलाका महिलाहरु जागरुक भएर महिलाहरुको मात्रै समिति निर्माण गरेर वृहत योजना सम्पन्न पार्दै घरघरमा धारा निर्माणसंगै विकटको मुहानबाट पानी ल्याउन सफल भएका छन् । गाउँपालिकाले स्थानीय समूदायलाइ समेत सक्रिय बनाउदै विभिन्न निकायसंगको साझेदारीमा एक वर्षको अवधिमा मात्रै उल्लेख्य प्रगति हासिल गरेको छ । खानेपानीका धारा संगै घरघरमा हात धुने स्थान तथा चाङ समेत निर्माण भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आफ्नै लगानीबाट ३६ वटा योजना सम्पन्न गरेर ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको योजना शाखा प्रमुख नविन चन्दले जानकारी दिनभयो । यस्तै सुस्वा परियोजना मार्फत ३०९ जनाको घरमा धारा निर्माण भएको गाउँपालिकाको वास इकाइले जानकारी दिएको छ ।

परियोजना अन्तर्गत खानेपानी तथा सरसफाइका योजनाबाट दुई हजार ७३९ जना लाभान्वित भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिनुभयो । स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्न कम हुदै गएका खानेपानीका स्रोतको जगेर्ना गर्दै खानेपानी तथा सरसफाइका संरचनाहरूलाई जलवायु अनुकूल तथा बिपद् व्यवस्थापनमैत्री बनाउँदै लगिने गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बुद्ध कुमारी खत्रीले बताउनुभयो । गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रुपैयाँ लगानी भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । समुदायका मानिसहरूलाई पानीको संरक्षण, उपयोग, र सरसफाइबारे सचेतना जगाउने काम पनि भइरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाले दीगो खानेपानी व्यवस्थापनमा समुदायलाइ सक्रिय रुपमा सहभागिता गराउने जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।