सिमसार क्षेत्र संरक्षणमा गोवरडिहा सामुदायिक वनको सक्रियता

दाङ, ११ मंसिर । दाङ देउखुरीको गोवरडिहा सामुदायिक वनले सिमसार क्षेत्र संरक्षण गर्ने अभियान चलाएको छ । दश हेक्टर जमिनमा तीनवटा पोखरी निर्माण गरिएको गरी यक्त अभियान चलाएको हो । गढवा गाउँपालिका–३ मा रहेको सिमसार क्षेत्र संरक्षण भएपछि उक्त क्षेत्रका समुदायको आम्दानी पनि बढ्न थालेको छ । सिमसार क्षेत्र संरक्षण गर्न बनाइएका पोखरीमा माछा पालन गरेर आम्दानी पनि लिन थालिएको हो । यसरी भएको आम्दानीलाई बृक्षारोपण, वन क्षेत्रको तारबार र पोखरी मर्मतमा लगानी प्रयोग गर्ने गरिएको सामुदायिक वन समुहका अध्यक्ष शिवप्रसाद यादवले बताउनुभयो । सिमसार क्षेत्र नासिदै जाँदा जमिनमुनिको पानीसमेत घट्न थालेको थियो । अहिले सिमसार क्षेत्रको संरक्षण गर्न पोखरी निर्माण गरिएपछि त्यसले वन, वातावरण र जैविक विविधता संरक्षणमा योगदान मात्रै दिएको छैन्, सामुदायिक वनको आम्दानीको स्रोत पनि बढाएको छ । तीनवटा पोखरी निर्माण गरेर सिमसार क्षेत्र संरक्षण गरिएको छ ।

यसरी सिमसार क्षेत्र संरक्षणले समुदायको आम्दानी बृद्धि गर्न समेत मद्दत गरेको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यादवको भनाइ छ । दाङ जिल्लाका सामुदायिक वनले वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा गरेको योगदान अतुलनीय रहेको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हरि भुसालले बताउनुभयो । कुनै समय सिमसार क्षेत्र नासिदै जाँदा पानीको संकट पनि गहिरिदै गएको थियो । अहिले सिमसार क्षेत्रको संरक्षण भएपछि वरपरको क्षेत्र पनि हरियालीमा परिणत भएको छ । दाङ जिल्लामा रहेका सामुदायिक वनहरुले सिमसार क्षेत्र संरक्षण लगायत वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा समेत ध्यान दिएको पाइएको छ । सामुदायिक वनले सिमसार क्षेत्र संरक्षणसँगै आफै विरुवा उत्पादन नर्सरी समेत तयार पारेको छ । लोपोन्मुख र बहुमूल्य प्रजातिका श्रीखण्ड, कपुर, सुपारी, मौवाको विरुवा तयार पारिएको छ । उपभोक्तालाई संरक्षणसँगै उत्पादनमा जोड्न सामुदायिक वनले ध्यान दिएको पाइएको हो । आजको नयाँ युगबोध दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ ।।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया