अन्याय भएको भन्दै चलचित्र दिमाग खराबको प्रदर्शनमा रोक

काठमाडौ, २९ कात्तिक । चलचित्र हलहरूले अन्यायपूर्ण व्यवहार गरेको भन्दै चलचित्र दिमाग खराबका निर्माता र निर्देशकले यो चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेका छन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति निकालेर चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेका हुन् । चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शन सुरु भएको थियो । नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट अन्यायपूर्ण व्यवहार खेप्दै आएको, विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै प्रदर्शन समय अर्थात् ‘सो’ दिने तर दर्शकको अत्यधिक चासो भएको र दर्शकले हेर्न खोजेका नेपाली चलचित्रलाई आवश्यक ‘सो’ नदिने प्रचलन पुरानै रहेको भन्दै विज्ञप्तिमा यो अन्यायपूर्ण व्यहारको प्रतिवाद गर्नका लागि चलचित्रको प्रदर्शन रोक्नुपरेको बताइएको छ ।

विज्ञप्तिमा पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा शेयर बाँडफाँड ५०–५० प्रतिशत हुने र तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रशित शेयर बाँडिने व्यवस्थाप्रति पनि विज्ञप्तिमा आपत्ति जनाइएको छ । नेपाली चलचित्रलाई पनि विदेशी चलचित्रसरह बराबर ‘सो’ प्रदान गरि चलचित्र प्रदर्शन भइरहुञ्जेल बराबरी सेयर बाँडफाँट नहुँदासम्म चलिचत्र दिमाग खराबको प्रर्दशन हलमा नगर्ने र यस्तो ब्यवस्था नभए चलचित्र हलको साटो अन्य माध्यमबाट दर्शकसमक्ष पु¥याइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार
प्रतिक्रिया