उत्तर कोरियाली नेता किम जङ बुले‍टप्रूफ रेल चढेर रुसको यात्रामा

बीबीसी, २७ भदौ । उत्तर कोरियाली नेता किम जङ अन बुले‍टप्रूफ रेल चढेर रुसको यात्रामा निस्किएका छन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भ्लादिभोस्टक नगरमा भेट्ने योजना छ। एक अमेरिकी अधिकारीका अनुसार रुसले युक्रेनबाट प्रत्याक्रमण झेलिरहेको बेला दुई नेताबीच शस्त्र सम्झौताबारे छलफल हुन सक्छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको रेल मङ्गलवार बिहान सबेरै रुसी भूमिमा प्रवेश गरेको पुष्टि गरेको छ। उक्त रेल अहिले बन्दरगाह सहर भ्लादिभोस्टकतिर अघि बढिरहेको छ।

किमसँग उनको सरकारका वरिष्ठ पदाधिकारीहरू र सैन्य अधिकारीहरू पनि भएको उत्तर कोरियाको सरकारी समाचारसंस्था केजीएनएले जनाएको छ। किम र पुटिनबीच हुने छलफलको मुख्य विषयवस्तुमा प्योङ्याङले मस्कोलाई युक्रेन युद्धमा सहयोग पुग्ने गरी हातहतियार दिने कुरा हुनसक्ने यसअघि एक अमेरिकी अधिकारीले सीबीएसलाई बताएका थिए। क्रेम्लिनले उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउनेबारे पनि छलफल हुनसक्ने जनाएको छ। उत्तर कोरियामा औषधि र खाद्यपदार्थसहित अत्यावश्यक सामग्रीको चरम अभाव छ।

यसअघि किम आफ्नो अन्तिम विदेश भ्रमणमा किम रुसको भ्लाडिभोस्टक नै गएका थिए। उत्तर कोरियाको परमाणुनिरस्त्रीकरण वार्ता विफल भएपछि त्यहाँ उनको र तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट भएको थियो।

लामो यात्रा
उत्तर कोरियाली नेताहरूको पुरानो परम्परा अनुसरण गर्दै किमले पनि १,१८० किलोमिटर यात्राका लागि सुस्त गतिमा गुड्ने रेलमा झन्डै २० घण्टा बिताउने छन्। किम चढेको रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ पनि भएको बताइन्छ।

उक्त रेल निकै गहौँ छ र त्यो ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्छ। तुलना गरेर हेर्ने हो भने लन्डनको द्रुत गतिको रेल प्रतिघण्टा २०० किलोमिटर र जापानको शिन्कान्सेन बुलेट रेलको गति ३२० प्रतिघण्टा छ।

किमको लामो यात्राले उत्तर कोरियामा विद्यमान रेल सञ्जाल पुरानो भएको सङ्केत गर्छ। किम चढ्ने यो रेलको नाम उत्तर कोरियाका संस्थापक नेता किम इल सङको नामबाट ’तायङ्घो’ राखिएको छ। त्यसको अर्थ घाम भन्ने हुन्छ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया