२०८३ बैशाख ३१ गते बिहिवार

पुनः मतगणना गर्न उच्च अदालतको आदेश

सर्लाही, २३ पुस । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले उक्त वडाको अध्यक्षका लागि पुनः मतगणना गर्न आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार हरिवन–७ को वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भएर कार्यरत रहनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी हुनु भएको हो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापाले ३७८ मत पाउनुभएको थियो । कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गर्नुभएको थियो तर अदालतले अन्तरिम आदेश जारी नगरी आज पुनः मतगणनाको आदेश दिएको छ । रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताउनुभएको छ ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया