२०८३ मङ्सिर ९ गते बुधवार

शिक्षालाई जीवन उपयोगी बनाउनुपर्नेमा नगर प्रमुख पाण्डेको जोड

तुलसीपुर,१६ पुस । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले शिक्षालाई जीवन उपयोगी र रुपान्तरणमुखी बनाउनुपर्ने बताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि आयोजना गरेको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘अवको १० बर्षमा शिक्षालाई कस्तो बनाउने भन्ने कुराको दृष्टिकोण हामीले बनाउनुपर्छ । प्रत्येक घरमा कम्तिमा एकजना एमए पास गरेको र प्राविधिक शिक्षा पढेको हुनुपर्ने । टोलमा एक जना पिएचडी पास गरेको हुनुपर्ने । जसले समाजलाई रुपान्तरण गर्न सकोस । तुलसीपुरमा गएपछि पढ्नका लागि कुनै समस्या भएको छैन भन्ने कुराको विकास गर्नुपछ ।’ नगर प्रमुख पाण्डेले भन्नुभयो । त्यसैगरी उहाँले तुलसीपुरलाई शैक्षिक हवको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
स्थानिय पाठ्यक्रममा उपमहानगरपालिकाले यहाँको भौगोलिक तथा जनसंख्याको अबस्था, भाषा, संस्कृति, परम्परा, चाडपर्व, जातजाति, भेषभुषा, धर्म, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र, वातावरण, एतिहासिक तथा सांस्कृतिक संरचना, पर्यावरणीय सचेतना तथा प्राकृतिक तथा मानवजन्य प्रकोप न्यूनिकरण र विपद व्यबस्थापनलगायतका विषयहरु समावेश हुनेछन् । त्यस्तै शैक्षिक अबस्था, संरचनागत धारणा, पेशागत धारणा तथा सामाजिक रहनसहन र मूल्यमान्यता, कृषि व्यबसाय तथा पशुपंक्षी पालन, परम्परागत चिकित्सा एवं प्राथमिक उपचार विधि, उद्योग एवं कलकारखाना, खुलकुद, सञ्चार प्रबिधिलगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरिने छ ।

पाठ्यक्रम निर्माण भएपछि शैक्षिकशत्र २०७९ देखि उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पढाई सुरु हुनेछ । कक्षा १ देखि ८ सम्मकालागि पाठ्यक्रम तयार पार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताउनुभयो ।  त्यस अवसरमा एनप्याब्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपानेले स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले पाठ्यक्रम निर्माण गर्दा बालबालिकाहरुको भावनालाई कदर गर्नुपर्ने समेत बताउनुभयो । त्यस्तै वातावरण विद डिल्लीबहादुर रावतले पाठ्यक्रममा अर्गानिक कुरालाई बढि जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई बढि माटोको बारेमा जानकारी गराउने खालले पाठ्यक्रम तयार गर्नुपर्ने बताउनुभयो ।

साथै तुलसीपुर उपमहानगरपालिकाका अधिृकृत झरेन्द्र खरेलले स्थानीय काष्टकला, चित्रकला, पर्यटनलाई पनि समावेश गर्नुपर्ने बताउनुभयो । त्यस्तै शिक्षा विज्ञ मुकुन्द रिजालले हाजिरि अपडेट तथा विद्यार्थीको नियमिततालाई ध्यान दिनुपर्ने बताउनुभयो । तुलसीपुर उपमहागनरपालिका शिक्षा समितिका सदस्य श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का वडाअध्यक्ष नवराज लामीछाने, शिक्षक महासंघको नगर अध्यक्ष ढक बहादुर वली, ७ का वडाध्यक्ष टोपबहादुर केसी लगाएतले महत्वपूर्ण सुझावहरु दिनुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत मान बहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।