तुलसीपुर, ९ असार । दाङ तुलसीपुर उपमहानगरपालिकाले अगामी आर्थिक बर्षका लागि साढे ३ अर्ब बजेट ल्याउने तयारी गरेको छ । उपप्रमुख माया आचार्यले भोली(विहिवार) हुने नवौ नगरसभामा आगामी आर्थिक बर्ष २०७८ /०७९ को लागि ३ अर्ब ३९ करोडको हाराहारीमा बजेट ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो ।
प्रवक्ता डाँगीका अनुसार विनियोजित बजेट मध्य सबै भन्दा बढी विकास तर्फ एक अरब ६२ करोड, १६ लाख अनुमानित बजेट पेश गर्ने तयारी गरिएको छ ।
जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ । त्यसैगरी सामाजिक सुरक्षा तर्फ ४० करोड र चालुतर्फ एक अरब ३५ करोड बजेट विनियोजन गरिएको छ । वडा तर्फ प्रत्येक वडामा एक रोड ७० लाखका दरले बजेट दिने तयारी गरिएको छ भने कार्यपालिका सदस्यहरुको सिफारिसमा खर्च हुनेगरी हरेक कार्यपालिका सदस्यहरुका लागी ४० लाख रुपैयाका दरले बजेट विनियोजन गरिएको छ ।
कार्यपालिकामा मनोनित सदस्यको संख्या ७ जना रहेको छ । गत आर्थिक बर्षलाई तुलना गर्दा आगामी बर्षका लागि एक अरब भन्दा बढी बजेट ल्याउन लागिएको छ । चालु आर्थिक बर्षमा २ अरब ३४ करोड ३७ लाख, ६४ हजार वजेट विनियोजन गरिएको थियो ।





