दाङ,२० कात्तिक । दाङमा चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट ४९ लाख रुपैयाँभन्दा बढीको चिनी र नुन बिक्री भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका अनुसार गत असोज १ गतेदेखि कात्तिक १९ गतेसम्म सञ्चालन भएको उक्त पसलबाट हजारौँ उपभोक्ता लाभान्वित भएका छन् । कार्यालयका अनुसार डेढ महिनाभन्दा बढी समय सञ्चालन भएको सुपथ मूल्य पसलबाट कुल ८ हजार ७ सय ६१ जना उपभोक्ताले सेवा लिएका छन् । उक्त अवधिमा ४३ हजार ३ सय किलो चिनी र २६ हजार ६ सय किलो नुन बिक्री भएको छ ।
चिनी र नुन बिक्रीबाट कुल ४९ लाख ६८ हजार ४ सय रुपैयाँ बराबरको कारोबार भएको कार्यालय प्रमुख रामबाबु प्रसाद गुप्ताले जानकारी दिनुभयो । चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु चिनी र नुन सहज रूपमा तथा बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । पसलबाट चिनी प्रतिकिलो १ सय रुपैयाँ र नुन प्रतिकिलो २४ रुपैयाँका दरले बिक्री गरिएको थियो । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको उक्त सुपथ मूल्य पसल गत बिहिबारदेखि बन्द भएको कार्यालयले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।