२०८३ असोज २६ गते सोमवार

अवरुद्ध घोराही–कुइरेपानी सडक सुचारु

तुलसीपुर, २६ असोज । बिहानदेखि अवरुद्ध घोराही कुइरेपानी सडक सुचारु भएको छ । टिपरको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका थिए । सडक अवरोध खुलाउने तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासन र प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेम केसीको विशेष सक्रियतामा छलफल भएको थियो ।

स्थानीयवासी, पीडित परिवार र स्वर्गद्वारी टिपर व्यवसायी समितिबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमतिसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । सहमतिमा घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने र पिडित पक्षलाई कानून अनुसार क्षेतिपूर्ति दिने उल्लेख गरिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । दाङको घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा टिपरको ठक्करबाट प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी ६ वर्षीय राजन अधिकारीको मृत्यु भएको थियो ।

आइतबार साँझ रा.१ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक अधिकारीको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै कुइरेपानीमा घोराही–लमही सडकखण्ड बिहान साढे ११ बजेदेखि  अवरुद्ध गरेका थिए । सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका थिए ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।