फोटो फाईल
धेरैपछि एउटा यस्तो नेपाली चलचित्र हेरियो, जसले मनोरञ्जनभन्दा धेरै गहिरो कुरा सोच्न बाध्य बनायो। चलचित्र सकिएपछि पर्दा अँध्यारो भयो, तर मनभित्रका प्रश्नहरू भने उज्यालै रहे। चलचित्र थियो—‘बा–एक योद्धा’। यो केवल एउटा ‘बा’को कथा होइन। यो नेपाली समाजका ती हजारौँ–लाखौँ अभिभावकको कथा हो, जसले आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो वर्तमानलाई निरन्तर लुटाइरहेका हुन्छन्। आफू रित्तिँदै गए पनि सन्तानको अगाडि मुस्कुराइरहने, आफ्ना पीडा लुकाएर ‘म ठीक छु’ भन्ने र सन्तानको खुशीमै आफ्नो खुशी खोज्ने बाको कथा हो।
हाम्रो समाजमा एउटा विडम्बना गहिरिँदै गएको छ। सन्तानलाई राम्रो भविष्य चाहिएको छ, त्यसका लागि विदेश जानुपर्ने आकांक्षा छ, आधुनिक जीवनशैलीको चाहना छ। तर त्यो चाहना पूरा गर्न घरको आर्थिक अवस्था कस्तो छ? बा–आमाको क्षमता कति छ? उनीहरू आफैँ कति अभावमा छन्? भन्ने प्रश्न धेरैपटक ओझेलमा पर्छ। सन्तानको भविष्य बनाउने नाममा एउटा बा कति पटक ऋणमा डुब्छ? आफ्नो आवश्यकता कति पटक थाती राख्छ? आफ्नो रहर कति पटक मार्छ? आफ्ना लागि किन्नुपर्ने वस्तु सन्तानका लागि किनिदिन्छ? र अन्ततः आफूलाई नै रित्त्याएर सन्तानको सपनालाई उचाइ दिन खोज्छ—‘बा–एक योद्धा’ले यिनै यथार्थलाई पर्दामा निकै संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
सबैभन्दा मार्मिक पक्ष त्यतिबेला देखिन्छ, जब बुढ्यौलीले थलिएको बा वा आमा अस्पतालको शय्यामा हुन्छन् र टाढा रहेको सन्तानसँग दुई शब्द बोल्न चाहन्छन्। उनीहरूलाई ठूलो कुरा चाहिएको हुँदैन—कहिलेकाहीँ एउटा फोन, केही आत्मीय शब्द र ‘बा, आमा, तपाईंहरूलाई कस्तो छ?’ भन्ने सामान्य प्रश्न नै पर्याप्त हुन्छ। तर आधुनिक जीवनको व्यस्तता, स्वार्थ र दूरीले त्यही सामान्य आत्मीयता पनि दुर्लभ बनाइदिन्छ।
यहीँ चलचित्रले एउटा असहज प्रश्न दर्शकसामु तेर्स्याउँछ—सन्तानका लागि जीवनभर त्याग गर्ने बा–आमालाई बुढेसकालमा सन्तानको साथ र आत्मीयता किन भारी बन्दै जान्छ? चलचित्रले छोरीको जीवनसँग जोडिएको अर्को पारिवारिक यथार्थलाई पनि संवेदनशील रूपमा उठाएको छ। छोरीलाई पराइ घर पठाइसकेपछि उसको सुखद दाम्पत्य जीवनको कामना गरेर बसेका बा–आमाले ज्वाइँको गैरजिम्मेवार वा चरित्रगत व्यवहारका कारण छोरीको भविष्यमा संकट देखेपछि कस्तो मानसिक पीडा भोग्नुपर्छ? छोरीको घर बसोस् भनेर सहने कि छोरीको जीवन बिग्रिन नदिन हस्तक्षेप गर्ने? यो प्रश्न पनि नेपाली समाजका धेरै अभिभावकको वास्तविक जीवनसँग जोडिएको छ।
यस अर्थमा ‘बा–एक योद्धा’को ‘बा’ केवल जैविक अभिभावक होइनन्। उनी त्याग, संघर्ष, जिम्मेवारी, प्रेम र धैर्यको एउटा जीवन्त प्रतीक हुन्।हामी प्रायः बाको अनुहार देख्छौँ, तर उनको थकान देख्दैनौँ। उनको हात देख्छौँ, तर ती हातले गरेका संघर्ष देख्दैनौँ। उनको मुस्कान देख्छौँ, तर त्यो मुस्कानभित्र लुकेको पीडा पढ्दैनौँ। उनी घरमा बलियो देखिन्छन्, किनकि परिवारलाई कमजोर देखिनु हुँदैन भन्ने संस्कारले उनलाई बाँधेको हुन्छ। तर आखिर बा पनि मानिस नै हुन्। उनका पनि रहर हुन्छन्, पीडा हुन्छन्, सपना हुन्छन् र कहिलेकाहीँ आफ्ना सन्तानको एउटा आत्मीय स्पर्श र दुई शब्दको मायाको आवश्यकता हुन्छ। ‘बा–एक योद्धा’ले यही मानवीय पक्षलाई पर्दामा ल्याएको छ। चलचित्र भर कथावस्तु र पात्रहरूको जीवन्त अभिनयले दर्शकलाई कथासँग जोडिरहन्छ। नढाँटी भन्ने हो भने, भावुक र संवेदनशील मन लिएर चलचित्र हेर्ने हो भने कतिपय दृश्यमा आँसु पुछ्न रुमाल चाहिन्छ। अनि मनले आफैँ भन्छ—‘यस्तो पो फिल्म!’
चलचित्र हेर्दै गर्दा कतै आफ्नै बा सम्झिन्छन्, कतै आमाको अनुहार आँखाअगाडि आउँछ। कतै विदेशिएको सन्तान सम्झिन्छ, कतै गाउँको त्यो घर सम्झिन्छ जहाँ बा–आमा अझै पनि सन्तान फर्किने बाटो हेरिरहेका हुन्छन्। यही आत्मीयता चलचित्रको सबैभन्दा ठूलो शक्ति हो। यस चलचित्रका निर्माता तथा यस यात्राका आत्मीय पात्र आदरणीय दाजु बसन्त लाम्सालप्रति पनि केही शब्द नलेखी रहन सकिँदैन। अमेरिकाको सुविधासम्पन्न जीवनमा रहेर पनि आफ्नो देश, बा–आमा, आफन्त, इष्टमित्र, भाइबन्धु तथा नेपाली गीत–संगीतप्रतिको आत्मीयता र सद्भावलाई निरन्तर जोगाइरहनुभएको उहाँको स्वभाव सधैँ आत्मीय लाग्छ। विदेशमा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग जुटाउनेदेखि रोजगारीका अवसर उपलब्ध गराउनेसम्मका मानवीय काममा उहाँको सक्रियता देखिन्छ।
तर यति हुँदाहुँदै पनि उहाँको व्यवहारमा घमण्डको गन्ध भेटिँदैन। शालीनता, भद्रता र सहृदयता उहाँको परिचय बनेको छ। यस्तो मनले ‘बा–एक योद्धा’जस्तो सामाजिक यथार्थ बोकेको कथामा लगानी गर्ने आँट गर्नु आफैँमा एउटा अर्थपूर्ण निर्णय हो। चलचित्र व्यवसाय मात्र होइन, समाजको संवेदना र परिवारभित्र हराउँदै गएको आत्मीयतालाई पर्दामा उतार्ने प्रयास पनि हो भन्ने अनुभूति हुन्छ। त्यसैले एक सहृदयी भाइको नाताले उहाँप्रति मेरो सहयोग, ऐक्यबद्धता र समर्थन छ। उहाँको यो सिर्जनात्मक यात्राप्रति हार्दिक सम्मान र आदर व्यक्त गर्दछु। अन्ततः ‘बा–एक योद्धा’ हेर्नु भनेको एउटा चलचित्र हेर्नु मात्र होइन, आफ्नै घरभित्र फर्केर हेर्नु पनि हो। हामीले आफ्ना बा–आमालाई कति बुझेका छौँ? उनीहरूले हाम्रो भविष्यका लागि कति गुमाएका छन्? हामीले उनीहरूलाई कति समय दिएका छौँ? उनीहरूलाई पैसाभन्दा बढी चाहिएको आत्मीयता, सम्मान र साथ हामीले दिएका छौँ कि छैनौँ? यी प्रश्नहरूको उत्तर चलचित्रले दिँदैन। उत्तर हामी आफैँले खोज्नुपर्छ। सायद यही नै ‘बा–एक योद्धा’को सबैभन्दा ठूलो सफलता हो,चलचित्र सकिएपछि पनि कथा दर्शकको मनमा चलिरहनु।
लेखक : राम बहादुर जीसी तुलसीपुर ६ तुलसीपुर दाङ
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।