सामाजिक जीवनको यात्रामा मानिसले गरेका हरेक कामको आफ्नै महत्व हुन्छ। कतिपय काम समयसँगै ओझेलमा पर्न सक्छन्, कतिपय सम्झनाका पानामा मात्र सीमित हुन सक्छन्, तर समाजको भविष्यसँग जोडिएका केही कामहरू भने जीवनभरका लागि गर्व र सन्तुष्टिको विषय बन्न सक्छन् । मेरो सामाजिक जिवनमा यस्तै सम्झन लायक केहि क्षणहरु छन् । तुलसीपुर ३ रानागाउँमा रहेको आधारभूत विद्यालय रानागाउँको स्तरवृद्धि त्यस्तै एउटा अविस्मरणीय क्षण बनेको मेरो अनुभुती छ । जसलाई म सामाजिक जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा सम्झन्छु। वि.स.२०४५ सालमा स्थापना भएको यो विद्यालयमा सुरुमा प्राथमिक विद्यालयका रुपमा लामो समयसम्म संचालन भयो । स्थानिय बालबालिकाहरुको भविस्यमा शिक्षाको आधार बन्दै आएको थियो।
तर समय परिवर्तन संगै विद्यालयमा विद्यार्थी संख्या क्रमश घट्दै जाँदा विद्यालयको अस्तित्व नै संकटमा पुग्यो। विद्यार्थी संख्या विस्तारै घटेर जम्मा ४५ जनामा सीमित भएपछि वि.स.२०७६ सालमा विद्यालय मर्ज हुने अवस्था आयो। विद्यार्थी कम संख्या भएका विद्यालयहरुलाई मर्ज गर्ने तुलसीपुर उपमहानगरपालिकाको निति थियो । सोहि अनुसार एउटा चलिरहेको विद्यालय बन्द हुने वा अर्को विद्यालयमा विलय हुने अवस्था आउनु केवल एउटा संस्थाको अन्त्य हुनु थिएन , यो हाम्रो गाउँका बालबालिकाको भविष्यसँग जोडिएको गम्भीर विषय थियो। जसले गर्दा विद्यालय,स्थानिय समुदाय र सरोकारवालाहरु संग एउटै विकल्प थियो ? कित विद्यालय मर्ज हुन दिने वा विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्ने । यसै क्रममा विद्यालयको २०७६/९/२२ गते सम्पन्न भएको अभिभावक भेलाबाट मलाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरियो।
त्यो जिम्मेवारी मेरा लागि पद मात्र थिएन, एउटा ठूलो विश्वास, चुनौती र जिम्मेवारी थियो। विद्यालयलाई जोगाउने मात्र होइन, यसलाई समय अनुकूल र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्ने संकल्पका साथ हामीले यात्रा सुरु गर्यौँ। हामीले सबैभन्दा पहिले विद्यालयप्रति अभिभावक र समुदायको विश्वास पुनःस्थापित गर्ने, विद्यार्थी संख्या बढाउने र विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्ने अभियान अघि बढायऔँ । निरन्तरको प्रयास, शिक्षक–अभिभावकको साथ, स्थानीय जनप्रतिनिधिको सहयोग र मेरो टिमका साथीहरूको सकारात्मक सोचका कारण केही वर्षमै विद्यालयको स्वरूपमा उल्लेखनीय परिवर्तन आयो। जहाँ म आउनु अघि विद्यार्थी संख्या ४५ जनामा सीमित थियो, त्यही विद्यालयमा विद्यार्थी संख्या बृद्धि भई २६५ जनासम्म पुग्यो। यो संख्या वृद्धि केवल तथ्याङ्क होइन, समुदायले आफ्नै विद्यालयप्रति पुनः विश्वास गरेको प्रमाण थियो।
त्यसपछि विद्यालयमा कक्षा थपका लागि आवश्यक पहल र अनुमति प्राप्त गर्दै विद्यालय कक्षा ८ सम्म सञ्चालन हुने अवस्थामा पुग्यो। अहिले शिशु कक्षादेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ भने कक्षा ६ देखि ८ सम्म अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमबाट शिक्षा प्रदान भइरहेको छ। यसले ग्रामीण क्षेत्रका स्थानिय बालबालिकालाई आफ्नै घर नजिक बसेर आधारभुत तह सम्मको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरेको छ। विद्यालयको शैक्षिक विकाससँगै भौतिक पूर्वाधारलाई पनि प्राथमिकतामा राखियो। विद्यालयमा ४ कोठे भवन निर्माण, वास तथा शौचालय निर्माण, विद्यार्थीहरूका लागि शुद्ध पिउने पानीको व्यवस्था तथा युरोगार्ड फिल्टर जडान, पर्याप्त मात्रामा डेस्क–बेन्चको व्यवस्थापन लगायतका महत्वपूर्ण कामहरू सम्पन्न भए।
विद्यार्थीहरूको सुरक्षा र विद्यालयको संरक्षणलाई ध्यान दिँदै विद्यालय वरिपरि तारजालीको व्यवस्था गरियो। शैक्षिक गुणस्तर र जनशक्ति व्यवस्थापनका दृष्टिले पनि महत्वपूर्ण पहलहरू भए। विद्यालयमा ४ जना स्थायी दरबन्दी थप गर्न सफल भयौँ। विद्यार्थीहरूबीच एकरूपता र अनुशासन कायम गर्न अनिवार्य विद्यालय पोशाक तथा ट्राउजरको व्यवस्था गरियो। समयको आवश्यकता र विद्यार्थीको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई विद्यालय शिक्षाको अभिन्न हिस्सा बनाउँदै ट्राफिक सचेतना, लागुऔषधविरुद्धको जनचेतना, स्वास्थ्यसम्बन्धी कार्यक्रम, बालविवाहविरुद्धको अभियान तथा मोबाइल फोनको उचित प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरियो। यी कामहरू कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव भएका होइनन्।
यो विद्यालयप्रतिको सामूहिक जिम्मेवारीबोध, अभिभावकहरूको विश्वास, शिक्षकहरूको मेहनत, जनप्रतिनिधिको सहयोग र हाम्रो टिमको निरन्तर प्रयासको परिणाम हो। त्यसैले यस विद्यालयको शैक्षिक ,भौतिक र गुणस्तरिय शिक्षाका लागी अहोरात्र खटेर काम गर्ने र साथ दिनुहुने सवै प्रति सम्मान छ । अझै विद्यालयको प्रगति हुदै जावस शुभकामना छ ।
लेखक : चेतमान सेजुवाल (विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष) तुलसीपुर ३ रानागाउँ दाङ






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।