काठमाण्डौ, ९ भदौ । सरकारले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै २३ अर्ब २३ करोड हाराहारी ऋण परिचालन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले साउनमा २३ अर्ब २९ करोड ऋण लिँदा २० अर्ब ६ करोड रुपैयाँ बराबर ऋण भुक्तानी गरेको छ । जसले गर्दा एक महिनामा खुद सार्वजनिक ऋणमा ३ अर्ब २३ करोडको भार थपिएको थियो । तर, यस महिनामा विनिमय दरमा ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको नाफा हुँदा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तुलनामा भने कुल सार्वजनिक ऋण ५ अर्ब ३ करोडले घटेको छ ।
असार मसान्तसम्म २९ खर्ब ८१ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण २९ खर्ब ७६ करोडमा झरेको छ । सामान्यतया आर्थिक वर्षको पहिलो महिनामा बाह्य ऋण परिचालन कम हुने हुँदा खुद सार्वजनिक ऋणमा ठूलो बढोत्तरी हुँदैन । सरकारले अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा भने ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण लिएको थियो । जसमा ४० अर्ब आन्तरिक ऋण थियो । यस वर्ष साउनमा आन्तरिक ऋण २० अर्ब रुपैयाँ मात्र परिचालन भएको छ । कार्यालयका अनुसार साउन मसान्तसम्म कुल सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ उत्पादनको आधारमा ४५।१० प्रतिशत हुन आउँछ । यसमध्ये आन्तरिक ऋण १५ खर्ब ९८ अर्ब ८३ करोड अर्थात् जीडीपीको २४.२२ प्रतिशत रहेको छ ।





