काठमाडौ, १५ जेठ । आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। आज अपराह्न ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो। सरकारले आज बजेट ल्याउने कुरा आएसँगै करको दरमा ठूलै हेरफेरका विषयमा पनि चर्चा चलिरहेको छ। गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ मतसहित बनेको रास्वपा सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो। जसमा अर्थविद्समेत रहेका अर्थमन्त्री वाग्नेले करको दरमा हेरफेरसहितको बजेट ल्याउन लागेको चर्चासमेत चलेको छ।
यस्तै, सरकारी सेवामा ३० वर्ष पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने तयारी गरेको छ। साथै, कर्मचारीतन्त्रमा व्यापक सुधार र पुनर्संरचना गर्ने उद्देश्यसहित ल्याउन लागिएको यो व्यवस्थाबाट हाल कार्यरत करिब १२ हजार कर्मचारी अवकाशमा जाने अनुमान गरिएको स्रोतले जनाएको छ। सत्तारुढ दल रास्वपाले चुनावअघि सार्वजनिक गरेको वाचापत्र, सरकार गठनपछि ल्याएको १०० बुँदे शासकीय सुधार योजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको बताइएको छ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको भए पनि अर्थमन्त्री वाग्लेले त्यसभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन्। अर्थमन्त्री वाग्ले आफू पनि योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ ।स्रोतका अनुसार सरकारले करिब २२ खर्ब रुपैयाँ बराबरको बजेट तयार गरेको छ। अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे प्रारम्भिक जानकारी समेत गराइ सक्नु भएको छ ।






