दाङ, ३ बैशाख । सानिमा बैंक लिमिटेड तुलसीपुर शाखाको आयोजनामा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । आम नागरिकलाई वित्तिय साक्षरताका विषयमा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे हो ।
तुलसीपुर उपमहानगरपालिका–५ स्थित नामिनगर आमा समूहका सदस्यहरूलाई बैंकिङ सेवा तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले वर्तमान समयमा डिजिटल बैंकिङ सेवाको महत्व झन् बढ्दै गएको उल्लेख गर्नुभयो । बैंकले प्रवाह गर्दै आएको विपन्न, कृषि, शैक्षिक तथा व्यावसायिक कर्जासम्बन्धी जानकारी समेत सहभागीहरूलाई भण्डारीले दिनुभएको थियो ।
त्यस्तै, आमा समूहकी अध्यक्ष पुष्पा भण्डारीले सानिमा बैंकले जिल्लामा छिटो, सहज र ग्राहकमैत्री सेवा प्रदान गरेको भन्दै प्रशंसा व्यक्त गर्दै नयाँ प्रविधियुक्त युगमा वित्तीय साक्षरतासम्बन्धी यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो ।












