काठमाण्डौँ, १४ चैत । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । ओली निवास गुण्डुबाट प्रहरीले केहीबेरअघि उहाँलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकेको छ ।मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका विषयमा गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेपछि ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो । हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार भनेको छ । जेनजी प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो ।।












