२०८३ भाद्र ११ गते बिहिवार

रोल्पाका चन्द्र थापाले जिते बक्सिङ च्याम्पियनशिपमा १ करोड ८ लाख रुपैयाँ नगद पुरस्कार

बीबीसी, १९ पुस । नेपाली बक्सिङ इतिहासमै नयाँ कीर्तिमान कायम गर्दै रोल्पाको परिवर्तन गाउँपालिका थुनिकोटका चन्द्र बहादुर थापाले विश्व पुरुष बक्सिङ च्याम्पियनशिपमा कांस्य पदकसँगै कीर्तिमानी पुरस्कार हात पारेका छन्। यूएईमा सम्पन्न उक्त प्रतियोगितामा कांस्य जितेबापत उनले ७५ हजार अमेरिकी डलर, नेपाली रुपैयाँमा करिब १ करोड ८ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन ।

यो रकम कुनै पनि खेलमा नेपाली खेलाडीले प्रत्यक्ष प्रतियोगिताबाट जितेको अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो। यससँगै चन्द्र थापा नगद पुरस्कारको हिसाबले पनि नेपाली खेलकुद इतिहासमा नयाँ अध्याय लेख्ने खेलाडी बनेका छन्।

यसअघि नेपाली खेलकुदमा १ करोडभन्दा बढीको नगद पुरस्कार जितिएको उदाहरण थिएन। सन् २०२४ को पारा ओलिम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र उसु खेलाडी विजय सिंजालीले कांस्य पदकपछि ६५ लाख रुपैयाँ पाएका थिए। तर त्यो पुरस्कार सम्बन्धित प्रतियोगिताबाट नभई नेपाल सरकारले घोषणा गरेको प्रोत्साहन रकम थियो।

त्यस्तै, विगतमा तेक्वान्दो खेलाडी सँगिना वैद्यलाई नेपाल तेक्वान्दो सङ्घले प्रदान गरेको २८ लाख मूल्य बराबरको कार, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वर्षका उत्कृष्ट खेलाडीलाई दिने गाडी तथा अपार्टमेन्ट, र नेपाल क्रिकेट सङ्घले नेपाल प्रिमियर लिग (एनपीएल) का उत्कृष्ट खेलाडीलाई दिएको कारलाई ठूला पुरस्कारका रूपमा लिइँदै आएको थियो।

तर चन्द्र थापाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामै प्रत्यक्ष रूपमा जितेको १ करोडभन्दा बढीको नगद पुरस्कारले ती सबै कीर्तिमानलाई उछिनेको छ। पुरस्कारसँगै उनले नेपाली बक्सिङलाई विश्व मञ्चमा चिनाउने ऐतिहासिक उपलब्धि पनि दिलाएका छन्। विशेषज्ञहरूका अनुसार चन्द्रको यो सफलता नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सम्भावना र व्यावसायिक भविष्य दुवै खोल्ने प्रेरणादायी उदाहरण बनेको छ।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार
प्रतिक्रिया